सेयर बजारबाट ८ अर्ब १७ करोडबढी लाभकर संकलन

काठमाडौँ । सरकारले चालु आर्थिक वर्षको पहिलो नौ महिनामा सेयर बजारबाट ८ अर्ब १७ करोड ६७ लाख रुपैयाँभन्दा बढी पुँजीगत लाभकर संकलन गरेको छ । पछिल्ला महिनाहरूमा कारोबार बढेसँगै कर संकलनमा पनि उल्लेख्य वृद्धि देखिएको हो ।

केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) का अनुसार फागुन महिनामा मात्रै ५५ करोड १५ लाख रुपैयाँभन्दा बढी लाभकर संकलन भएको थियो । तर चैत महिनामा यो परिमाण ह्वात्तै बढ्दै कुल कर संकलन उल्लेखनीय रूपमा उक्लिएको छ ।

चैत महिनामा व्यक्तिगत दीर्घकालीन पुँजीगत लाभकरतर्फ ३५ करोड ८२ लाख रुपैयाँ, व्यक्तिगत अल्पकालीन लाभकरतर्फ १ अर्ब १० करोड ५१ लाख रुपैयाँ र कर्पोरेटतर्फ २७ करोड २४ लाख रुपैयाँ संकलन भएको विवरण सार्वजनिक गरिएको छ।

कर संकलनको प्रवृत्ति हेर्दा बजारमा दीर्घकालीन लगानीकर्ताको तुलनामा अल्पकालीन लगानीकर्ता बढी सक्रिय रहेको देखिन्छ। छोटो अवधिमा सेयर किनबेच गर्ने प्रवृत्तिका कारण अल्पकालीन लाभकरको हिस्सा उल्लेख्य देखिएको हो।

प्रचलित व्यवस्थाअनुसार व्यक्तिगत लगानीकर्ताले एक वर्षभन्दा बढी अवधिपछि सेयर बिक्री गर्दा ५ प्रतिशत र एक वर्षभन्दा कम अवधिमा बिक्री गर्दा ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने हुन्छ। त्यस्तै संस्थागत लगानीकर्ताका लागि १० प्रतिशत कर दर लागू गरिएको छ ।

सेयर बजारमा बढ्दो कारोबार र सक्रियता सँगसँगै सरकारको राजस्व संकलनमा समेत सकारात्मक प्रभाव परेको देखिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै