काठमाडौँ । एपोलो हाइड्रोपावरको आईपीओमा अन्तिम दिनसम्म ४१.९६ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससी) का अनुसार कम्पनीको आईपीओमा २८ लाख ७५ हजार ७१८ जनाले आवेदन दिएका हुन् ।
कम्पनीको आईपीओमा ३ करोड २७ लाख ३६ हजार ४०० कित्ता बराबरको ३ अर्ब २७ करोड ३६ लाख ४० हजार रुपैयाँ आवेदन परेको छ ।कम्पनीले सर्वसाधारणका लागि कुल ७ लाख ८० हजार २०० कित्ता आईपीओ निष्कासन गरेको थियो । मागभन्दा बढी आवेदन परेकाले आइपीओ गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ ।
धिोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम हुने बाँडफाँडबाट १० कित्ताका दरले शेयर बाँडफाँड गर्दा ७८ हजार जनाले मात्रै आईपीओ पाउनेछन् । २७ लाख ९७ हजारबढीको हात खाली हुने निश्चित छ ।
कम्पनीले जारी पूँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत अर्थात १४ करोड १० लाख रुपैयाँ बराबरको १४ लाख १० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ४ लाख ७० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र ९४ हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।
त्यस्तै, कम्पनीले सामूहिक लगानी कोषहरुका लागि ३७ हजार कित्ता र कम्पनीका कर्मचारीहरुका लागि १८ हजार ८०० कित्ता शेयर बाँडफाँट गरिसकेको छ । अब भने कम्पनीले दोस्रो चरणमा बाँकी रहेको ७ करोड ८० लाख २० हजार रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ७ लाख ८० हजार २०० कित्ता साधारण शेयर सर्वसाधारण शेयरधनीहरुका लागि निष्काशन गरेको हो ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीले सञ्चालन गरेको ६ मेगावाटको बुकु खोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत १ अर्ब ३७ करोड २० लाख ३९ हजार रुपैयाँ रहेको छ भने प्रतिमेगावाट अनुमानित लागत २२ करोड ८६ लाख ७३ हजार रुपैयाँ रहेको छ । सो आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७.७७ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १६.४३ वर्ष रहेको छ ।