काठमाडौँ । लघुवित्त क्षेत्रमा अर्को ठूलो मर्जरको प्रक्रिया सुरु भएको छ। जीवन विकास लघुवित्त वित्तीय संस्थाले युनिक नेपाल र मानुषी लघुवित्तलाई समेत गाभ्ने गरी त्रिपक्षीय मर्जरको प्रारम्भिक सम्झौता (MOU) गरेको छ।
यसअघि मोरङको कटहरीमा केन्द्रीय कार्यालय रहेको जीवन विकास र बाँकेको कोहलपुरमा केन्द्रीय कार्यालय रहेको युनिक नेपाल बीच गत चैत १४ गते द्विपक्षीय मर्जर सम्झौता भएको थियो। उक्त प्रक्रियामा काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको मानुषी लघुवित्त समेत थपिएपछि चैत २८ गते शनिबार त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको हो।
मर्जरका मुख्य बुँदाहरू:
नयाँ नाम: एकीकृत कारोबारपछि संस्थाको नाम ‘जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड’ नै रहनेछ।
स्वाप रेसियो: संस्थाको सम्पत्ति तथा दायित्वको मूल्याङ्कन (DDA) रिपोर्ट आएपछि मात्र सेयर स्वाप रेसियो तय गरिनेछ।
सेयर कारोबार: मर्जर प्रक्रियाका लागि आधारभूत सेयरधनीहरूको सेयर कारोबार रोक्का राख्न नेपाल स्टक एक्सचेञ्ज (NEPSE) लाई अनुरोध गरिएको छ।
कार्यक्षेत्र विस्तार र पहुँच
मर्जरपछि संस्थाको राष्ट्रिय पहुँच थप बलियो हुने देखिएको छ। जीवन विकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत सञ्जयकुमार मण्डलका अनुसार हाल २१ वटा जिल्ला र तीनवटा प्रदेशमा मात्र सीमित रहेको सेवा अब लुम्बिनी, सुदूरपश्चिम र गण्डकी प्रदेशमा समेत विस्तार हुनेछ।
“राष्ट्रियस्तरको लघुवित्त भए पनि हाम्रो उपस्थिति भौगोलिक रूपमा खुम्चिएको थियो, अब मर्जरपछि कार्यक्षेत्र विस्तार भई सेवा थप प्रभावकारी हुनेछ,” मण्डलले भने ।
संस्थाले मर्जरबारे नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडलाई समेत औपचारिक जानकारी गराइसकेको छ।