काठमाडौँ । राजधानीमा आयोजित पाँचौँ राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन २०८२ नौ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । दुई दिनसम्म चलेको उक्त सम्मेलनले लघुवित्त क्षेत्रमार्फत उद्यमशीलताको विकास गर्ने र युवाहरूलाई स्वरोजगारतर्फ आकर्षित गर्ने मुख्य उद्देश्य राखेको छ ।
सम्मेलनले पारित गरेको घोषणापत्रमा देशको आर्थिक विकासका लागि विद्यालय तहदेखि नै ’पढ्दै कमाउँदै’ जस्ता कार्यक्रमहरू सञ्चालन गर्ने र युवाहरूलाई सीपमूलक तालिम तथा नवप्रवर्तनमा प्रोत्साहन गर्ने योजनाहरू समावेश गरिएको छ । यसका साथै, लघुवित्तका सदस्यहरूसँग गरिने व्यवहारलाई थप मर्यादित, पारदर्शी र जिम्मेवार बनाउने प्रतिबद्धता पनि जनाइएको छ ।
वातावरण संरक्षण र दिगो विकासका लागि सम्मेलनले ’तीन शून्य’ अवधारणा—अर्थात् शून्य गरिबी, शून्य बेरोजगारी र शून्य कार्बन उत्सर्जन—लाई अघि सारेको छ । जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न प्रत्येक लघुवित्त संस्थाले कम्तीमा एउटा वातावरणमैत्री गाउँ निर्माणमा पहल गर्ने लक्ष्य राखेका छन् ।
प्रविधिको प्रयोगलाई जोड दिँदै सम्मेलनले लघुवित्त सेवालाई डिजिटल माध्यमबाट सरल र सुरक्षित बनाउने तथा सदस्यहरूमा डिजिटल साक्षरता फैलाउने योजना सार्वजनिक गरेको छ । त्यस्तै, निष्क्रिय रहेका सदस्यहरूलाई वित्तीय साक्षरतामार्फत पुन: सक्रिय बनाउने र विपन्न महिलाहरूलाई सेवाबाट वञ्चित गराउने गलत तत्वहरूविरुद्ध समुदाय स्तरमा सचेतना जगाउने विषयलाई पनि प्राथमिकता दिइएको छ ।
सम्मेलनको समापन सत्रमा बोल्दै पूर्व गभर्नर दीपेन्द्र बहादुर क्षेत्रीले लघुवित्तले बैंकहरूको पहुँच नपुगेको विपन्न समुदायमा पुगेर सामाजिक परिवर्तनमा खेलेको भूमिकाको प्रशंसा गरे । अर्का पूर्व गभर्नर डा. विजयनाथ भट्टराईले लघुवित्त क्षेत्रमा बढ्दो निष्क्रिय कर्जालाई मुख्य चुनौतीको रूपमा औँल्याउँदै संस्थाहरूले आन्तरिक सुशासन र प्रविधिको प्रयोगमा ध्यान दिनुपर्नेमा जोड दिए ।
लघुवित्त क्षेत्रका समस्या समाधानका लागि सरकार र नियामक निकायसँग आपसी संवाद र सहकार्यमार्फत अघि बढ्ने सहभागीहरूले सामूहिक धारणा राखेका छन् ।