काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यका लागि इरानसँग सकारात्मक वार्ता भएको दाबी गर्नासाथ सोमबार ह्वात्तै घटेको ब्रेन्ट कच्चा तेलको मूल्य फेरि उकालो लागेको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ट्रम्पको दाबी इरानले अस्वीकार गरेपछि ब्रेन्ट कच्चा तेलको मूल्य मंगलबार बिहान फेरि प्रतिब्यारेल १०० अमेरिकी डलरभन्दा माथि उक्लिएको हो।
मंगलबार बिहान एसियामा ब्रेन्ट कच्चा तेलको मूल्य ३.७५ प्रतिशत बढेर १०३.६९ अमेरिकी डलर पुगेको छ। यसअघि सोमबार ट्रम्पले इरानमा ५ दिन आक्रमण स्थगन गर्ने घोषणा गरेपछि ब्रेन्टको मूल्य १० प्रतिशतभन्दा बढी घटेको थियो।
ट्रम्पले इरानसँग चाँडै शान्ति सम्झौता हुन सक्ने दाबी पनि गरेका थिए। तर इरानले ट्रम्पको दाबीलाई अस्वीकार गरेपछि तेलको मूल्य फेरि बढेको हो।
क्षतिपूर्ति नपाएसम्म युद्ध जारी रहनेछ : इरान
इरानले जारी द्वन्द्वबाट पछि नहट्ने र आफ्नो क्षतिको पूर्ति नपाएसम्म लडाइँ जारी राख्ने बताएको छ । इरानका सर्वोच्च नेता मोज्तबा खामेनीका वरिष्ठ सैन्य सल्लाहकार मोहसेन रेजाइले सबै आर्थिक प्रतिबन्ध हटाइनुपर्ने र अमेरिकाले भविष्यमा कुनै हस्तक्षेप नगर्ने ग्यारेन्टी गरिनुपर्ने बताएका छन् ।
टेलिभिजनमा प्रसारित वक्तव्यमा उनले भनेका छन्, ‘इरानी सेनाले पूर्ण शक्तिका साथ कारबाही गरिरहेको छ र नयाँ सर्वोच्च नेताको नेतृत्वमा देशको नेतृत्वले परिस्थितिलाई दृढतापूर्वक सम्हालिरहेको छ ।’
यसअघि इरानी संसदका सभामुख मोहम्मद बाघेर गालिबाफले पनि देशका जनताले आक्रमणकारीलाई पूर्ण सजायको माग गरिरहेको बताएका थिए । उता इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि इरानविरुद्ध हमला जारी रहेको बताएका छन् ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी द्वन्द्व पूर्ण रूपमा अन्त्य गर्न अमेरिका र इरानबिच ‘सकारात्मक वार्ता’ भएको दाबी गरिरहेका बेला इरान र इजरायल भने यसलाई अस्वीकार गर्दै युद्ध नरोकिने बताएका हुन्।
अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलगायत शीर्ष नेता तथा अधिकारीको हत्या गरेयता निरन्तर युद्ध जारी छ ।
यसबिच इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी र इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रवक्ता तथा जनसम्पर्क अधिकारी अली मोहम्मद नैनी पनि मारिइसकेका छन् ।
अमेरिका-इजरायलको आक्रमणबाट इरानमा अहिलेसम्म ३ हजारभन्दा बढी जनाको मृत्यु भइसकेको अमेरिकास्थित ह्युमन राइट्स एक्टिभिस्ट न्युज एजेन्सी (एचआरएएनए) ले जनाएको छ ।