काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठकले समानुपातिक सांसदका लागि ५७ जनाको नाम सिफारिस गरेको छ ।
सचिवालय बैठकले ४८ महिला र ९ पुरुषको नामावली टुंगो लगाएको प्रवक्ता मनिष झाले जानकारी दिए । पार्टीले आजै सिफारिस भएकाहरूको सूची निर्वाचन आयोगमा बुझाउने भएको छ ।
बैठकले १७ जना खसआर्य, १६ जना जनजाति, तीन जना मुस्लिम, आठ जना दलित, नौ जना मधेसी तथा चार जना थारु ‘क्लस्टर’ बाट सिफारिस गरिएको बैठकपछि पार्टी प्रवक्ता झाले बताए ।
यी क्लस्टरबाट कोको परे भन्ने रास्वपाले खुलाएको छैन । निर्वाचन आयोगले यी नामावली रुजु गरेर अप्रुभ गरेपछि मात्रै नाम सार्वजनिक हुने प्रवक्ता झाले जानकारी दिए ।
४८ जना महिला नै किन छानिए ?
प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपाले समानुपातिकतर्फ ४७.८४ प्रतिशत अर्थात् ५१ लाख ८३ हजार मत प्राप्त गरेको थियो। समानुपातिकतर्फका ५७ सिट जोड्दा रास्वपाको संसद्मा कुल सिट सङ्ख्या १८२ पुग्छ।
संवैधानिक व्यवस्थाअनुसार कुल सिट (१८२) को ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य हुनुपर्छ। तर, प्रत्यक्षतर्फबाट १३ जना मात्र महिला निर्वाचित भएका कारण अपुग सङ्ख्या पुर्याउन रास्वपाले समानुपातिक सूचीबाट ठुलो सङ्ख्यामा अर्थात् ४८ जना महिला छान्नुपरेको हो।
क्लस्टरअनुसार सूचीमा अगाडि रहेका सम्भावित अनुहारहरू:
आदिवासी जनजाति:
बसुमाया तामाङ, गङ्गा छन्त्याल, सुम्निमा उदास, अनुष्का श्रेष्ठ, ओजस्वी शेरचन, सिर्जना श्रेष्ठ, रजनी श्रेष्ठ, कुसुम महर्जन, भूमिका श्रेष्ठ, प्रमीला कुलुजा, सुजाता तामाङ, कृपा महर्जन, राम लामा, खुस्बु सरकार श्रेष्ठ र मिङ्मा शेर्पा।
खस आर्य:
प्रतिभा रावल, रचना खतिवडा खत्री, लिमा अधिकारी, विदुषी राणा, समीक्षा बास्कोटा, श्रद्धा कुँवर क्षेत्री, टीका सङ्ग्रौला, क्रान्तिशिखा धिताल, आकृति अवस्थी, सृष्टि भट्टराई, मञ्जु भुसाल, प्रभा कार्की, शोभा खनाल, रत्नकुमारी थापा, ज्ञानु पौडेल, रमेश प्रसाईँ र सुदिप ढकाल।
दलित:
रिमा विश्वकर्मा, अमृता विक, सीता वादी, स्मृति सेन्चुरी, सुस्मा स्वर्णकार, तारा विश्वकर्मा, प्रकाशचन्द्र परियार र प्रकाश विक।
थारु:
गीता थारु, करिश्मा कठरिया, सुरेन्द्र चौधरी र प्रेमलाल चौधरी।
मधेसी/मुस्लिम:
पुनमकुमारी अग्रवाल, निशा मेहता, ललिता कुमारी, अंकिता ठाकुर, सरिता महतो, कामनी कुमारी, पुनम साह, सुनिता कुमारी चौधरी, पुरुषोत्तम सुप्रभात यादव, समिना मिया र अफसाना बानु ।