काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) को सम्पूर्ण उपचार काठमाडौँ मेडिकल कलेज (केएमसी) ले निःशुल्क गरिदिने भएको छ । घुँडाको गम्भीर चोटका कारण पुनः शल्यक्रिया गर्नुपर्ने अवस्था आएपछि साम्बाले सहयोगका लागि सामाजिक सञ्जालमार्फत अपिल गरेकी थिइन् ।
पछिल्लो सात हप्तादेखि मैदान बाहिर रहेकी साम्बाको यसअघि कतारको अस्पेटारमा शल्यक्रिया गरिएको थियो । तर, हालै उक्त शल्यक्रिया गरिएको ग्राफ्ट र एमसिएल (MCL) दुवैमा पुनः गम्भीर चोट देखिएपछि उनलाई दोस्रोपटक शल्यक्रिया गर्नुपर्ने चिकित्सकहरूले सल्लाह दिएका छन् ।
केएमसीको प्रतिबद्धता:
काठमाडौं मेडिकल कलेजले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत ‘राष्ट्रकी गहना’ का रूपमा रहेकी साम्बालाई देशकै उत्कृष्ट प्रविधि र दक्ष जनशक्तिमार्फत उपचार सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । केएमसीले साम्बाको उपचार प्रक्रियाको गाम्भीर्यतालाई मध्यनजर गर्दै उनको पुनः शल्यक्रिया र रिकभरीका लागि लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने बताएको हो ।
अहिले फ्रान्सेली क्लब ‘एभी जोइन्भिल’ बाट व्यावसायिक फुटबल खेलिरहेकी साम्बा नेपाली फुटबल इतिहासकै सबैभन्दा सफल स्ट्राइकर हुन् । उनको चोटका कारण राष्ट्रिय टोलीलाई समेत ठूलो धक्का पुगेको बेला केएमसीको यो निर्णयलाई खेलकुद क्षेत्रले स्वागत गरेको छ ।