समकालीन राजनीतिका अब्बल गगन ! 

-शोबु कटवाल । 

राजनीतिक वृत्तमा आज देशभर व्यापक चर्चा परिचर्चा भइरहेको छ। हामी चुनावको सन्निकटमा आइपुगेका छौँ । यो लेख तयार पारुन्जेल सबै दलको घोषणापत्र आइसकेको छ । प्रायः सबै राजनीतिक दलले मुख्यतः सुशासन, विकास र सार्वजनिक सेवाको सुधार र सुदृढीकरणमा जोड दिएका छन् । मुख्य दलहरूले आगामी निर्वाचन पछि बन्ने प्रधानमन्त्रीको उम्मेदवार नै तोकेर निर्वाचनमा होमिएका छन् । ती मध्य एउटा पुरानो तथा बदलिएर आएको दल हो नेपाली काँग्रेस। काँग्रेसले प्रधानमन्त्रीको उम्मेदवार गगन कुमार थापालाई बनाउने निर्णय गरिसकेको छ। आशा गरौँ गगनको नेतृत्वमा देशले नयाँ, युवा र परिपक्व नेतृत्व पाउने छ ।

सुरुमा काँग्रेसलाई महाधिवेशनले अलमल्ल बनायो। विशेष गर्ने कि नियमित गर्ने । भदौ २४ पछिको परिवर्तनले राजनीतिक दलहरू आन्तरिक रूपमा सबल, सक्षम, परिमार्जित र सुधार  हुनै पर्थ्यो । यथास्थितिले अब नेपालको राजनीति चल्दैन भन्ने कुरा आम मानिसमा पर्दै गयो । परिवर्तित चेतना, आकाङ्क्षा विवेकलाई आत्मसात् गर्दै काँग्रेसले विशेष परिस्थितिमा विशेष महाधिवेशनबाट सर्वसम्मत नेतृत्व छनोट गर्‍यो। साथसाथै नीतिगत तथा संरचनागत कुराहरू परिवर्तन र सुधार गर्ने जमर्को गर्‍यो र आफू बदलिएको आभास/सन्देश पार्टी भित्र र बाहिर सबैलाई एकसाथ दिन सफल भयो ।

भलै यो समयमै हुनु पर्थ्यो यद्यपि नहुनु भन्दा ढिलो हुनु फलदायक मानिन्छ । अबको काँग्रेस युवा पुस्ताको काँधमा आइसकेको छ । विशेषतः गगन विश्व र प्रदीपहरूको काँधमा आएको छ। अब उनीहरूले देश र काँग्रेसलाई कसरी नेतृत्व गर्छन् भन्ने कुरा हेर्न बाँकी छ । परिवर्तित आकाङ्क्षा, सिद्धान्त, मूल्य र मान्यतामा काँग्रेस चल्न सकोस् र देशलाई विकास र समृद्धिको यात्रामा अगाडि डोर्‍याउन सफल बन्नु । हाम्रो शुभेच्छा र कामना छ ।

यो लेख मूलतः वर्तमान समयमा बदलिएको नेपाली काँग्रेसका सभापति गगनको वरिपरि हुनेछ । गगनको नेतृत्व प्रतिको बढ्दो उत्साह कुनै संयोग होइन। विद्यार्थी आन्दोलनदेखि राष्ट्रिय राजनीतिसम्मको यात्रामा निरन्तर छन्। उनी वि.सं २०४६ सालदेखि नै राजनीतिमा निरन्तर सक्रिय भएर अघि बढिरहे । सुरुदेखि नै उनी स्पष्ट, निडर र प्रखर वक्ता थिए। यो गुण उनमा अहिलेसम्म पनि कायम छ । अहिले गाउँ, समाज र राष्ट्रले अनुभूति गरिरहेको परिवर्तनको चाहनासँग गगन गहिरो रूपमा जोडिएका छन् ।

प्रभावकारी नेतृत्वले केवल निर्देशन मात्र दिँदैन, यसले दूर दृष्टि, मूल्य, मान्यता र जिम्मेवारीलाई पनि आत्मसात् गर्छ। पछिल्लो समय नेतृत्वप्रति बढ्दो आकर्षण देखिनुका पछाडि उनले अङ्गीकार गरेका नीति, नेतृत्व शैली, सिद्धान्त र जनअपेक्षाको महत्त्वपूर्ण भूमिका रहेको छ । जब कुनै नेता स्पष्ट दृष्टिकोण, पारदर्शिता र उत्तरदायित्वसहित अघि बढ्छ, तब जनतामा स्वाभाविक रूपमा विश्वास र उत्साह बढ्छ। उदाहरणका लागि, Nelson Mandela ले अपनाएको मेलमिलाप र समानताको नीति विश्वभर नेतृत्वको प्रेरणादायी उदाहरण बनेको छ । त्यस्तै, Jacinda Ardern को सहानुभूतिपूर्ण र संवेदनशील नेतृत्व शैलीले सङ्कटको समयमा जनविश्वास मजबुत बनायो। र यस्ता उदाहरणहरूले देखाउँछन् कि सही नीति र मानवीय दृष्टिकोणले नेतृत्वप्रति जनउत्साह बढाउँछ।

गतिशील नेतृत्वले प्रायः लोकतन्त्र, समावेशी, पारदर्शी, जबाफदेहिता र दीर्घकालीन हितलाई केन्द्रमा राखेर नीति निर्माण गर्छ । सुशासन र पारदर्शिताको निर्णय प्रक्रियामा खुलापन र उत्तरदायित्व बोध गर्छ। क्षणिक लाभ भन्दा दीर्घकालीन स्थायित्वमा जोड दिन्छन् । जुन नीतिले नागरिकमा भरोसा बढाउँछ र सहभागितालाई प्रोत्साहन दिन्छ। त्यसैले गगनमा परिवर्तनकारी नेतृत्व गर्ने तथा आफ्नो विचार, दृष्टि र एजेन्डा प्रस्तुत गरी अनुयायीलाई प्रेरित गरिरहन्छ। उनी सत्ताभन्दा सेवामा विश्वास गर्ने गर्छन् र आफूलाई त्यहीँ अनुरूप खडा गर्छन् । निर्णय प्रक्रियामा पारदर्शिता र जनताको सहभागिता सुनिश्चित गर्न प्रयासरत हुन्छन्। आजको समाजमा नागरिकहरू सचेत र सूचित छन्। उनीहरू पारदर्शिता, जबाफदेहिता, परिणाममुखी कार्यशैली र नैतिक आचरणको अपेक्षा गर्छन्। नेताले यी अपेक्षा पूरा गर्न सके, उत्साह समर्थनमा रूपान्तरण हुन्छ। नत्र निराशा उत्पन्न हुन सक्छ ।

त्यसैले नेतृत्वले निरन्तर आत्ममूल्याङ्कन, सुधार र संवादमा जोड दिनुपर्छ। जुन कुरा गगनले आत्मसात् गर्दै आएका छन् । नेतृत्वप्रतिको बढ्दो उत्साह कुनै व्यक्तिको व्यक्तिगत लोकप्रियता मात्र होइन। यो उसले अङ्गीकार गरेको नीति, नेतृत्व, सिद्धान्त र व्यवहारसँग प्रत्यक्ष सम्बन्धित हुन्छ । जब नेतृत्व दूरदर्शी, पारदर्शी, समावेशी र उत्तरदायी हुन्छ तब समाजमा सकारात्मक परिवर्तनको सम्भावना बढ्छ ।

अन्ततः सशक्त नेतृत्वले मात्र दिगो विकास, सामाजिक न्याय र सामूहिक समृद्धिको मार्ग प्रशस्त गर्न सक्छ। संसद र सार्वजनिक मञ्चमा स्पष्ट, तर्कसङ्गत र प्रभावशाली अभिव्यक्ति उनका मुख्य सबल पक्षमध्ये एक हो। समाजका विविध मुद्दा उठाउने, सबैलाई जोड्ने र परिवर्तित आकाङ्क्षाका साथ प्रस्तुत हुने भएकाले युवा वर्गमा उनको प्रभाव गहिरो छ। पार्टीभित्र र बाहिर सुधारको आवाज उठाउने नेताका रूपमा चिनिन्छन् । नीतिगत विषयमा व्यापक र गहिरो अध्ययनसहित धारणा राख्ने क्षमताले उनलाई बौद्धिक नेताको छवि दिन्छ ।

यद्यपि विचार र भाषण प्रभावशाली भए पनि ठोस परिणाम देखाउन नसकेको भन्ने आलोचनाबाट मुक्त हुन सकेका छैनन्।सुधारवादी धार भए पनि पार्टी संरचनामा पूर्ण समर्थन नपाउनु उनको कमजोरी मानिन्छ। कतिपय अवस्थामा आलोचना धेरै र समाधान कम प्रस्तुत गर्ने आरोप पनि लाग्ने गरेको छ । कतिपयले मिडियामा धेरै बोल्ने नेताका रूपमा चित्रण गर्छन्।नेपालको राजनीतिक संरचना बहुदलीय प्रतिस्पर्धा, गठबन्धन संस्कृति र जटिल प्रशासनिक संरचनाले भरिएको छ। यस्तो अवस्थामा व्यक्तिगत क्षमता मात्र पर्याप्त हुँदैन, सहकार्य, सहमति र संस्थागत सुधारको स्पष्ट रोडम्याप चाहिन्छ। अब उनले आफ्नो नीति र दृष्टिकोणलाई व्यवहारमा उतारेर प्रत्यक्ष उपलब्धि देखाउन सके प्रभाव अझ बढ्नेछ ।

व्यक्तिगत लोकप्रियतासँगै सङ्गठनात्मक आधार बलियो बनाउनु आवश्यक छ। त्यस्तै आर्थिक, शिक्षा, स्वास्थ्य रोजगार जस्ता क्षेत्रमा ठोस दीर्घकालीन समाधानका लागी अझ स्पष्ट रूपमा अघि बढ्नु पर्नेछ। सहरी युवामा मात्र होइन, ग्रामीण र विविध समुदायमा पनि प्रभाव विस्तार गर्नु आवश्यक छ ।

गगन थापा नेपाली राजनीतिमा प्रभावशाली, युवा र सुधारमुखी नेताका रूपमा चिनिन्छन्। उनका सबल पक्षले भविष्यको सम्भावना देखाउँछन् भने केही कमजोरी र सुधारका पक्षमा ध्यान दिन सके अझ परिपक्व र प्रभावकारी नेतृत्वका रूपमा स्थापित हुनेछन्। नेपालको लोकतान्त्रिक यात्रामा विद्यार्थी राजनीतिबाट राष्ट्रिय नेतृत्वसम्म उक्लिएका केही सीमित नेतामध्ये एक हुन् विद्यार्थी आन्दोलनका दिनदेखि नै नीतिगत बहस, सङ्गठनात्मक क्षमता र सार्वजनिक संवादमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् । उनको राजनीतिक यात्रा आकस्मिक होइन क्रमिक, सङ्घर्षशील र स्पष्ट दिशासहित अघि बढेको देखिन्छ। नेपालमा नेतृत्व मूल्याङ्कन प्रायः भावनात्मक आधारमा हुने गरेको छ । तर पछिल्ला वर्षहरूमा नीति, कार्यक्षमता र परिणाममा आधारित मूल्याङ्कनको आवश्यकता झन् तीव्र बनेको छ ।

यही सन्दर्भमा गगन थापाको सार्वजनिक बहस शैली, प्रत्यक्ष प्रश्नोत्तरमा दिएको सन्तुलित अभिव्यक्ति र संविधानसम्मत धारणा प्रस्तुत गर्ने अभ्यासले उनलाई फरक स्थानमा उभ्याएको छ । सांसदका रूपमा संसद्मा सक्रिय उपस्थिति, नीति–निर्माणसम्बन्धी बहसमा सहभागिता र जनस्वास्थ्य, शिक्षा तथा सुशासनका विषयमा स्पष्ट धारणा प्रस्तुत गर्दै आएका छन् ।

त्यस्तै स्वास्थ्य मन्त्रीको रूपमा काम गर्दा सार्वजनिक स्वास्थ्य प्रणाली सुधार, संस्थागत पारदर्शिता र सेवा पहुँच विस्तारतर्फ देखाएको प्रतिबद्धताले उनको प्रशासनिक क्षमता दर्साउँछ । नेपालको वर्तमान राजनीति असक्षमताको चुङुल तथा पुस्तागत सङ्क्रमणको चरणमा रहेका वेला उनले आफ्नो तर्फबाट निरन्तर आवाज उठाउँदै आए। अनन्त बदलिएको समयमा पार्टीलाई बदल्नै पर्छ भन्ने दृढ सङ्कल्पका साथ ठुलो जोखिम उठाएर काँग्रेसको नेतृत्व तथा नीतिहरू बदल्दै नेतृत्व पुग्न सफल भए ।

एकतिर अनुभवी पुस्ता छ भने अर्कोतिर Gen-Z लगायत नयाँ पुस्ताको आकाङ्क्षामा तीव्र बदलाव आएको छ। यी दुईबिच सन्तुलन कायम गर्नु चुनौतीपूर्ण भए पनि गगन थापाको सार्वजनिक संवाद शैलीले दुवै पुस्तालाई सम्बोधन गर्ने प्रयास देखिन्छ। गगनले जटिल संवैधानिक वा नीतिगत विषयलाई सरल, तर्कसङ्गत र शालीन भाषामा व्याख्या गर्ने अभ्यासले राजनीतिक संवादको स्तर उकासेको छ ।

असहमतिको सम्मान र तर्कमा आधारित बहसलाई प्राथमिकता दिनु उनको शैलीको महत्त्वपूर्ण पक्ष मानिन्छ।नेतृत्वको अर्को महत्त्वपूर्ण पक्ष सङ्गठनात्मक परिवर्तन हो। पार्टीभित्र आन्तरिक लोकतन्त्र सुदृढ गर्ने, नीतिगत स्पष्टता ल्याउने र युवालाई अवसर दिने अभ्यास दीर्घकालीन राजनीतिक स्थिरताका लागि आवश्यक मानिन्छ जुन कुरा गगनले उठाउँदै र गर्दै आएका छन् । तसर्थ यदि देशले स्थिर, नीतिगत र युवामैत्री नेतृत्व खोजिरहेको हो भने, प्रमाणित कार्यक्षमता र स्पष्ट दृष्टिकोण भएका नेतामाथि गम्भीरतापूर्वक विचार गर्नु लोकतान्त्रिक दायित्व पनि हो ।

समकालीन नेपालको राष्ट्रिय राजनीतिमा यदि कुनै नेता स्पष्ट दृष्टिकोण, साहस र विचारको दृढता सहित उभिएका छन् भने, त्यो एक मात्र नाम हो – श्री गगन कुमार थापा। गगन केवल एक व्यक्ति होइनन्, एक सम्भावना हुन्, एक आशा हुन्, एक दृष्टिकोण हुन्। समृद्ध देश निर्माणका परिपक्व तथा जिम्मेवार नेता हुन् । जहाँ धेरै नेताहरू सिद्धान्तसँग सम्झौता गर्ने गर्छन्, त्यहाँ गगन थापा पदको  निमित्त सिद्धान्तसँग कहिल्यै सम्झौता गर्दैनन् । उनमा बिपी कोइरालामा जस्तै वैचारिक स्पष्टता र परिपक्वता छ, लोकतन्त्रप्रतिको अटुट आस्था, पारदर्शिता, सामाजिक न्यायप्रतिको दृढ प्रतिबद्धता र राष्ट्र निर्माणको स्पष्ट मार्गचित्र छ ।

गगन थापामा गणेशमान सिंहमा जस्तै जोखिम लिन सक्ने अदम्य साहस छ, सत्यका लागि उभिने दह्रिलो हिम्मत र असमानताका विरुद्ध बोल्ने निडरता र आँट छ। नेपाली काँग्रेस केवल एउटा राजनीतिक पार्टी मात्र होइन, यो त लोकतान्त्रिक चेतनाको अब्बल प्रतीक हो । र, गगन कुमार थापा – लोकतान्त्रिक आन्दोलनका नूतन ब्रान्ड हुन्। स्पष्ट विचार, अनवरत सङ्घर्ष र लोकतान्त्रिक चेतनाका हिसाबले उनी अतुलनीय व्यक्तित्वका बिम्ब हुन् ।

फागुन २१ को निर्वाचन केवल मत हाल्ने दिन होइन-यो आफ्नो भविष्य रोज्ने दिन हो। यो नेपालको समृद्धि रोज्ने दिन हो। यो एउटा गर्बिलो र साहसी नेतृत्व रोज्ने दिन हो । अतः राष्ट्र निर्माणका लागि आवश्यक दृष्टि, निष्ठा र साहस एवं स्पष्ट सङ्कल्प सहित निर्वाचनको महायज्ञमा प्रस्तुत भएका नेपाली काँग्रेसका सबै उम्मेदवारहरूलाई रुख चिन्हमा मतदान गर्नुहुन सम्पूर्ण विकास प्रेमी, न्याय प्रेमी, नेपालीजनहरुमा हार्दिक अनुरोध गर्दछु ।

भवतु सब्ब मंगलम् । जय जननी। जय नेपाल । जय होस् मङ्गल होस्…..

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै