सिन्धुपाल्चोक-२ मा नेकपाका युवराज दुलाल विजयी, पूर्वमन्त्री शेरबहादुर तामाङ तेस्रो

चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार युवराज दुलाल निर्वाचित भएका छन् । दुलालले नेपाली कांग्रेसका उम्मेदवार बंशलाल तामाङलाई २ हजार ५५३ मतको अन्तरले पराजित गर्दै जित हासिल गरेका हुन् ।

अन्तिम मतपरिणाम अनुसार दुलालले २१ हजार ६९९ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका तामाङले १९ हजार १४६ मत पाए ।

प्रमुख उम्मेदवारहरूको अन्तिम मत विवरण:

उम्मेदवार दल प्राप्त मत स्थान
युवराज दुलाल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) २१,६९९ निर्वाचित
बंशलाल तामाङ नेपाली कांग्रेस १९,१४६ दोस्रो
शेरबहादुर तामाङ नेकपा एमाले १५,९२६ तेस्रो
झलक कुमार श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १४,०१९ चौथो

 

प्रदेशबाट संघको यात्रा: को हुन् युवराज दुलाल ?

२०३९ साल फागुन ७ गते चौतारा साँगाचोकगढी–७ मा जन्मिएका दुलाल जिल्लामा ‘जनमुखी र सक्रिय’ युवा नेताका रूपमा परिचित छन् । स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरेका उनले यसअघि सोही क्षेत्रको प्रदेशसभा (क) बाट दुई पटक निर्वाचन जितिसकेका छन् ।

बागमती प्रदेश सरकारमा सामाजिक विकास र पूर्वाधार विकास जस्ता महत्वपूर्ण मन्त्रालय सम्हालेका दुलालले आफ्नो कार्यशैली र विकासप्रेमी छविका कारण तुलनात्मक रूपमा कमजोर सङ्गठनात्मक अवस्थाका बावजुद पनि जित निकाल्न सफल भएका हुन् ।

बदलिएको चुनावी समीकरण

यसअघि २०७९ को निर्वाचनमा यस क्षेत्रबाट नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत भारी मतान्तर (३९,३८१ मत) सहित विजयी भएका थिए । त्यतिबेला नेकपा माओवादी केन्द्रको साथ पाएका बस्नेतले एमालेका शेरबहादुर तामाङलाई पराजित गरेका थिए ।

तर, यसपटकको निर्वाचनमा एमालेका प्रभावशाली नेता शेरबहादुर तामाङ १५ हजार ९२६ मतका साथ तेस्रो स्थानमा खुम्चिएका छन् भने रास्वपाका झलक कुमार श्रेष्ठले १४ हजार मत कटाएर उल्लेख्य उपस्थिति जनाएका छन् । इन्द्रावती गाउँपालिकाका पूर्वअध्यक्ष समेत रहेका कांग्रेसका बंशलाल तामाङसँगको कडा प्रतिस्पर्धालाई चिर्दै दुलालले संघीय संसद्को यात्रा पक्का गरेका हुन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै