प्रधानमन्त्री बालेनलाई मोदी र सरिफको बधाई: नेपालसँगको सम्बन्ध सुधारमा जोड

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई छिमेकी मुलुक भारत र पाकिस्तानका प्रधानमन्त्रीहरूले बधाई तथा शुभकामना व्यक्त गरेका छन् । शुक्रबार प्रधानमन्त्री शाहले पद तथा गोपनीयताको शपथ लिएलगत्तै दुवै देशका सरकार प्रमुखहरूले सामाजिक सञ्जालमार्फत बधाई सन्देश पठाएका हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देशः

भारतीय प्रधानमन्त्री मोदीले शाहको नियुक्ति नेपाली जनताले उनको नेतृत्वमा राखेको विश्वासको प्रतिविम्ब भएको उल्लेख गरेका छन् । सामाजिक सञ्जाल ‘एक्स’ मा बधाई दिँदै मोदीले लेखेका छन्, “नेपालका प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गर्नुभएकामा बालेन्द्र शाहलाई हार्दिक बधाई दिन चाहन्छु। म तपाईंसँग मिलेर नेपाल–भारत सम्बन्धलाई अझै उचाइमा पुर्‍याउन उत्सुक छु।” उनले दुवै देशको पारस्परिक हितका लागि सहकार्य गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

पाकिस्तानी प्रधानमन्त्री सेहबाज सरिफको सन्देशः

यसैगरी, पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफले पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भारी बहुमतसहित निर्वाचन जितेर पदभार ग्रहण गरेकामा प्रधानमन्त्री शाहलाई बधाई दिएका छन् । सरिफले नेपाल र पाकिस्तानबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धलाई उच्च महत्त्व दिएको बताए ।

“क्षेत्रीय शान्ति, स्थिरता र समृद्धिका साझा लक्ष्यहरूलाई अघि बढाउँदै द्विपक्षीय सहकार्य सुदृढ बनाउन म प्रधानमन्त्री शाहसँग नजिकबाट कार्य गर्ने अपेक्षा राख्दछु,” सरिफले उल्लेख गरेका छन् ।

नवनियुक्त प्रधानमन्त्री शाहलाई अन्य मित्रराष्ट्रका प्रमुखहरूबाट पनि बधाई आउने क्रम जारी छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै