काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पर्यटकीय क्षेत्रमा हुने नक्कली उद्धार (फेक रेस्क्यु) कार्यमा संलग्न थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका–१ घर भएका ५० वर्षीय पासाङ शेर्पा रहेका छन् ।
ब्युरोले उनलाई बुधबार काठमाडौँबाट नियन्त्रणमा लिएको हो। ब्युरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठका अनुसार शेर्पाले पानोरमा हिमालय ट्रेकिङ एण्ड एक्स्पिडिसन प्रालिमार्फत नक्कली कागजात बनाई विदेशी पर्यटकको बिमा रकम ठगी गर्ने गरेका थिए ।
यसरी हुन्थ्यो ठगी
अनुसन्धानका क्रममा शेर्पाले हिमाली क्षेत्रमा पदयात्रामा रहेका पर्यटकको स्वास्थ्यमा समस्या नभए पनि ‘उद्धार गरिएको’ भन्दै झुटो विवरण तयार पार्ने गरेको खुलेको छ । सोही नक्कली कागजातका आधारमा विदेशी बिमा कम्पनीहरूबाट मोटो रकम दाबी गरी ठगी गरेको प्रहरीले जनाएको छ ।
राष्ट्रहित प्रतिकूलको कसुरमा कारबाही
यसअघि पनि प्रहरीले फेक रेस्क्युमा संलग्न १० जना पर्यटन व्यवसायी र अस्पताल सञ्चालकहरूलाई पक्राउ गरिसकेको छ । यो प्रकरणमा संलग्नहरूलाई मुलुकी अपराध संहिता २०७४ को दफा ५१ (राष्ट्रहित प्रतिकूल काम गर्न नहुने) र सङ्गठित अपराध निवारण ऐन, २०७० अनुसार कारबाही अघि बढाइएको छ ।
पक्राउ परेका शेर्पालाई जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ । यस्ता गतिविधिले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठा र पर्वतीय पर्यटनको गरिमामा गम्भीर आँच पुर्याएको प्रहरीको ठहर छ ।