बर्दियामा वन्यजन्तुको वितण्डा: उम्मेदवारसँग जनताले मागे लिखित जवाफ

बर्दिया । बर्दिया जिल्लामा बाघ र चितुवाको आक्रमणबाट स्थानीयको मृत्यु हुने क्रम बढ्दै गएपछि आगामी फागुन २१ गतेको निर्वाचनका उम्मेदवारहरूमाथि नागरिकको दबाब बढेको छ । बिहीबार मात्रै जिल्लाका दुई अलग स्थानमा बाघ र चितुवाको आक्रमणबाट दुई जनाको ज्यान गएपछि स्थानीय बासिन्दा आन्दोलित बनेका हुन् ।

स्थानीय युवा निखिल गिरिले आसन्न निर्वाचनका उम्मेदवारहरूका लागि ‘खुल्ला बहस र लिखित धारणा’को माग गर्दै केही गम्भीर प्रश्नहरू अघि सारेका छन् ।

उम्मेदवारलाई जनताका प्रश्न:

निर्वाचनका लागि भोट माग्न गाउँ पसेका नयाँ तथा पुराना उम्मेदवारहरूलाई गिरिले निम्न प्रश्नहरू सोधेका छन्:

सुरक्षाको ग्यारेन्टी: खेतबारीमा काम गर्दा वा घाँस-दाउरा गर्दा ज्यान गुमाउनुपर्ने त्रास कहिले अन्त्य हुन्छ? तपाईंको कार्यकालमा कति किलोमिटर ‘इलेक्ट्रिक फेन्सिङ’ वा पर्खाल लगाउनुहुन्छ?

पीडितको भविष्य: घरको मुख्य व्यक्तिको मृत्यु भएमा परिवारको जीविकोपार्जन र बालबालिकाको शिक्षाका लागि तपाईंको ठोस योजना के छ ?

नीतिगत सुधार: ५० वर्ष पुरानो ‘राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९’ लाई मानव-मैत्री बनाउन संसद्‌मा तपाईंको भूमिका के हुन्छ?

जोखिमपूर्ण बस्ती र निकुञ्जको सिमानामा मजबुत ‘मेस वायर फेन्सिङ’ वा आरसीसी पर्खाल निर्माण जस्ता भौतिक पूर्वाधार निर्माण हुन सकेको छैन । यस्तै निकुञ्जभित्रै बाघ र चितुवाका लागि पर्याप्त प्राकृतिक आहार (मृग, बँदेल आदि) को व्यवस्था र पानीको स्रोत व्यवस्थापन गर्न सकेको खण्डमा पनि तिनीहरू बस्तीमा नआऊ सक्छन् । यसैगरी सीसीटीभी क्यामेरा, ड्रोन र ‘अर्ली वार्निङ सिस्टम’ (Early Warning System) जस्ता आधुनिक प्रविधि मार्फत वन्यजन्तुको मुभमेन्ट ट्रयाक गरी गाउँलेलाई समयमै अलर्ट दिने काम गर्न सकिन्छ ।

बन्यजन्तुको आक्रमणमा हालको राहत रकम (मृतकका परिवारलाई रु. १० लाख) निकै कम छ । यसलाई वृद्धि गरी कम्तीमा रु. २५ लाख पुर्‍याउनुपर्ने र घाइतेको सम्पूर्ण उपचार खर्च राज्यले बेहोर्नुपर्ने नीति बनाउनुपर्छ । यसैगरी स्थानीय सरकारले मानव-वन्यजन्तु द्वन्द्व बीमा कार्यक्रम ल्याई प्रिमियम आफैँ तिरिदिने व्यवस्था गर्नुपर्छ । साथै वनमा आधारित जीविकोपार्जन (घाँस(दाउरा) लाई विस्थापित गरी पशुपालनका लागि साइलो वा घाँस खेतीका लागि अनुदान दिनुपर्छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै