Close This

गुराँस गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित दुई जना र कन्स्ट्रक्सन कम्पनिविरुद्ध मुद्धा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखको गुराँस गाउँपालिकामा भएको घरजग्गा तथा निर्माण सामग्री उत्खनन ठेक्कामा अनियमितता भएको ठहर गर्दै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दिपक कुमार आचार्य र आर.के. कन्स्ट्रक्सन, सुर्खेतका सञ्चालक सुवास कार्कीविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

अख्तियारले अनुसन्धानबाट कर्णाली नदी र लोहरेखोला क्षेत्रबाट गिट्टी, बालुवा, ढुंगा तथा ग्राभेल उत्खननका लागि आर्थिक वर्ष २०७८/७९ मा ठेक्का प्रक्रिया अगाडि बढाइएको देखिएको छ। न्यूनतम १६ लाख ६० हजार रुपैयाँ तोकिएको ठेक्कामा आर.के. कन्स्ट्रक्सनले ३० लाख ५० हजार रुपैयाँ कबोल गरी ठेक्का पाएको थियो ।

तर सम्झौता अनुसार तिर्नुपर्ने मूल्य अभिवृद्धि करसहित कुल ३४ लाख ४६ हजार ५ सय रुपैयाँमध्ये जम्मा १२ लाख २ हजार रुपैयाँ मात्रै दाखिला गरिएको पाइएको छ । बाँकी २२ लाख ४४ हजार ५ सय रुपैयाँ हालसम्म पनि नबुझाइएको आयोगले जनाएको छ ।

त्यसैगरी, नियमविपरीत बैंक जमानत नलिई किस्ताबन्दीमा रकम बुझाउने शर्त राखी सम्झौता गरिएको र यसबाट गाउँपालिका तथा नेपाल सरकारलाई नोक्सानी पुर्‍याइएको पुष्टि भएको छ ।

उक्त प्रकरणमा संलग्न व्यक्तिहरूमाथि कानुनअनुसार कारबाही तथा सजायको माग गर्दै विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै