सुनको मूल्य एक हप्तामा २६ हजार ३०० रुपैयाँले घट्यो

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य पछिल्लो एक सातामा लगातार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार कात्तिक २७ गते शुक्रबारदेखि मंसिर ४ गते शुक्रबारसम्म सुनको मूल्य प्रतितोला २६ हजार ३०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार कात्तिक २७ गते शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ७१ हजार ७०० सय रुपैयाँ रहेको थियो । कात्तिक २९ गते आइतबार एक हजार ५०० रुपैयाँले घटेर प्रतितोला २ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य त्यसयता निरन्तर ओरालो लागेको छ ।

मूल्य विवरणअनुसार कात्तिक ३० गते सोमबार १ हजार १०० रुपैयाँ घटेर प्रतितोला २ लाख ६९ हजार १०० रुपैयाँमा झरेको थियो । मंसिर १ गते मंगलबार थप १ हजार ९०० रुपैयाँ घटेर २ लाख ६७ हजार २०० रुपैयाँ कायम भयो ।

त्यस्तै, मंसिर २ गते बुधबार सुनको मूल्य एकैदिन ६ हजार ३०० रुपैयाँले घटेर प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँमा झरेको थियो । मंसिर ३ गते बिहीबार थप ३ हजार ३०० रुपैयाँ घटेर २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भयो।

मंसिर ४ गते शुक्रबार भने सुनको मूल्यमा यस साताकै ठूलो गिरावट आएको छ । उक्त दिन प्रतितोला १२ हजार २०० रुपैयाँले घटेर २ लाख ४५ हजार ४०० रुपैयाँ कायम भएको छ ।

यसरी एक साताको अवधिमा सुनको मूल्यमा उल्लेख्य गिरावट आएको महासंघले जनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिकरत्न शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुन बिक्रीको चाप बढ्नु र अमेरिकी डलर मजबुत बन्नुलगायत कारणले सुनको मूल्यमा गिरावट आएको हो ।

उनले पछिल्ला दिनमा सुनको मूल्य निरन्तर घटिरहेको बताउँदै आगामी दिनमा मूल्य अझै घट्ने वा बढ्ने भन्ने विषयमा केही समय कुर्नुपर्ने बताए । ‘यो हप्ता सुनको मूल्य निरन्तर घटिरहेको छ । भोलिका दिनमा के हुन्छ, त्यो हेर्न बाँकी नै छ,’ शाक्यले भने, ‘घट्छ वा बढ्छ, अझ केही समय कुर्नुपर्ने नै हुन्छ ।’

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै