सुदूरपश्चिम रोयल्स बन्यो एनपीएलको नयाँ च्याम्पियन

काठमाडौँ । लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उपाधि जितेको छ। यससँगै सुदूरपश्चिमले लगातार दुईपटक फाइनलमा पराजित हुँदै आएको ‘उपविजेताको डेडलक’ तोडेको छ ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले १३.३ ओभरमै कुनै विकेट नगुमाई पूरा गर्‍यो ।

सुदूरपश्चिमको जितका नायक जर्ज मुन्से बने। उनले ५७ बलमा ८ चौका र १२ छक्कासहित अविजित १२६ रनको विस्फोटक शतकीय पारी खेले। यो एनपीएलको यस सिजनको तेस्रो शतक हो । यसअघि चितवन राइनोजका कमिल मिशारा र पोखरा एभेन्जर्सका युवराज सम्राले शतक बनाएका थिए ।

मुन्सेलाई अर्का ओपनर विनोद भण्डारीले उत्कृष्ट साथ दिए। भण्डारीले २७ बलमा तीन चौकासहित अविजित ३० रन बनाए। दुईबीच १५६ रनको अविजित साझेदारी भयो । मुन्सेले अन्तिम बलमा छक्का प्रहार गर्दै टोलीलाई शानदार जित दिलाए। यसअघि प्रतियोगिताका अघिल्ला खेलमा खासै प्रभाव जमाउन नसकेका मुन्सेले फाइनलमा भने विस्फोटक प्रदर्शन गरे।

लुम्बिनीले बनाएको थियो १५५ रन

टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो।

लुम्बिनीका लागि अविजित दिलीप नाथले सर्वाधिक ३९ रन बनाए। उनले ३१ बलमा तीन छक्का प्रहार गरे। कप्तान रोहितकुमार पौडेलले ३०, निरोसन डिक्वेलाले २८ र अलि शेखले २४ रन जोडे।

ओपनर डार्सी सर्टले २१ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

सुदूरपश्चिमका स्कट कुगेलेइनले दुई विकेट लिए। दीपेन्द्रसिंह ऐरी, हेमन्त धामी र थरिन्दु रत्नायकेले समान एक विकेट लिए।

सुदूरपश्चिमले सुरुदेखि नै दबाबपूर्ण बलिङ गर्दै लुम्बिनीलाई ठूलो योगफल बनाउनबाट रोकेको थियो।

### लगातार तेस्रो फाइनलमा सुदूरपश्चिम

सुदूरपश्चिम यसअघि एनपीएलका पहिलो र दोस्रो संस्करणमा पनि फाइनल पुगेको थियो। तर पहिलो संस्करणमा जनकपुर बोल्ट्स र दोस्रो संस्करणमा लुम्बिनी लायन्ससँग पराजित हुँदै उपविजेतामा सीमित भएको थियो।

यसपटक भने लुम्बिनीलाई नै १० विकेटले हराउँदै सुदूरपश्चिमले पहिलोपटक एनपीएलको उपाधि उचालेको हो।

लुम्बिनी भने साविक विजेताका रूपमा फाइनल पुगे पनि उपाधि रक्षा गर्न असफल भयो। टोली एनपीएल इतिहासमा पहिलोपटक उपविजेतामा सीमित भएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै