

काठमाडौँ । भारतमा नयाँ २०२४ निसान म्याग्नाइट फेसलिफ्ट बिक्रीका लागि सार्वजनिक भएको छ । कम्पनीले अपडेटेड म्याग्नाइटलाई ६ वटा भेरियन्टमा उपलब्ध गराएको छ ।
नयाँ म्याग्नाइटको मूल्य भारतीय बजारमा ५ लाख ९९ हजार भारुबाट सुरु भएर ११ लाख ५० हजार भारुसम्म तोकिएको छ । यी मूल्यहरू सुरुवाती एक्स–शोरुम मूल्य हुन्, जुन पहिलो १० हजार युनिटको बिक्रीसम्म मात्रै लागू हुने कम्पनीले जनाएको छ ।
यसअघि उपलब्ध म्याग्नाइटको मूल्य ५ लाख ९९ हजारदेखि ११ लाख २७ हजार भारुसम्म थियो । नयाँ मोडलमा मूल्य सामान्य रूपमा बढाइएको छ ।
नयाँ म्याग्नाइटको अगाडिको भागमा ठूलो र फराकिलो ग्रिल दिइएको छ । ग्रिलमा क्रोम तथा ग्लस ब्ल्याक एलिमेन्टहरू प्रयोग गरिएको छ । नयाँ एलईडी हेडलाइट र एलईडी डीआरएल, परिमार्जित फ्रन्ट बम्पर तथा थप आकर्षक स्किड प्लेटले यसको अगाडिको डिजाइनलाई नयाँ बनाएको छ ।
साइड प्रोफाइलमा खासै परिवर्तन गरिएको छैन । यद्यपि, नयाँ १६ इन्चको अलोय ह्विल उपलब्ध गराइएको छ । पछाडिको भागमा नयाँ एलईडी टेललाइट क्लस्टर र परिमार्जित बम्पर दिइएको छ ।
साइज र रङ
नयाँ म्याग्नाइटको आकारमा भने कुनै परिवर्तन गरिएको छैन । यसको लम्बाइ ३ हजार ९९४ एमएम, चौडाइ १ हजार ७५८ एमएम र उचाइ १ हजार ५७२ एमएम रहेको छ । यसको ह्विलबेस २ हजार ५०० एमएम र ग्राउन्ड क्लियरेन्स २०५ एमएम रहेको छ ।
नयाँ मोडलमा सनराइज कपर ओरेन्ज रङ थप गरिएको छ । यसबाहेक टुरमलाइन ब्राउन विथ ओनिक्स ब्ल्याक, ब्लेड सिल्भर, भिभिड ब्लु विथ ओनिक्स ब्ल्याक, स्यान्डस्टोन ब्राउन, पर्ल ह्वाइट विथ ओनिक्स ब्ल्याक, ओनिक्स ब्ल्याक, फ्लेयर गार्नेट रेड, फ्लेयर गार्नेट रेड विथ ओनिक्स ब्ल्याक र स्टर्म ह्वाइट रङमा पनि उपलब्ध हुनेछ ।
इन्टेरियर र फिचर
इन्टेरियरमा ब्ल्याक र ओरेन्ज डुअल टोन थिम दिइएको छ । सिल्भर इन्सर्ट, नयाँ सिट अपहोल्स्ट्री र परिमार्जित स्टेयरिङ ह्विलले केबिनलाई थप आकर्षक बनाइएको छ ।
यसमा ७ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टरमा नयाँ ग्राफिक्स, टाइप–सी चार्जिङ पोर्ट, अटो हेडलाइट, रिमोट स्टार्ट सुविधा भएको नयाँ स्मार्ट की र अटो डिमिङ आईआरभीएम उपलब्ध गराइएको छ ।
यसका अन्य फिचरमा वायरलेस फोन चार्जर, वायरलेस एन्ड्रोइड अटो तथा एप्पल कारप्ले, जेबीएल साउन्ड सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल र ३६० डिग्री क्यामेरा रहेका छन् ।
सुरक्षाका लागि ६ वटा एयरब्याग, सबै सिटमा तीन बुँदे सिटबेल्ट, सिटबेल्ट रिमाइन्डर र इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ईएससी) उपलब्ध गराइएको छ ।
इन्जिन र माइलेज
नयाँ म्याग्नाइटमा पुरानै १.० लिटर नेचुरली एस्पिरेटेड र १.० लिटर टर्बो पेट्रोल इन्जिन उपलब्ध छन् ।
नेचुरली एस्पिरेटेड इन्जिनले अधिकतम ७२ पीएस पावर र ९६ एनएम टर्क उत्पादन गर्छ । यो इन्जिन ५ स्पिड म्यानुअल र एएमटी गियरबक्समा उपलब्ध छ ।
त्यस्तै, १.० लिटर टर्बो पेट्रोल इन्जिनले १०० पीएस पावर र १६० एनएम टर्क उत्पादन गर्छ । यो इन्जिन ५ स्पिड म्यानुअल र सीभीटी अटोमेटिक गियरबक्समा उपलब्ध छ ।
कम्पनीका अनुसार म्यानुअल गियरबक्स भएको म्याग्नाइटले २० किलोमिटर प्रतिलिटर र सीभीटी संस्करणले १७।४ किलोमिटर प्रतिलिटर माइलेज दिन्छ ।