आईपीओ ल्याएको गार्डियन माइक्रोलाइफको यस्तो छ वित्तीय सूचक

काठमाडौँ । गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सले १८ लाख ४५ हजार कित्ता सर्वसाधारणका लागि आईपीओ निष्कासनमा ल्याएको छ । कम्पनीले आज पुस २१ गते आइतबारदेखि सर्वसाधारणको लागि प्राथामिक सेयर निष्कासन गरेको हो ।

कम्पनीले सर्वसाधारणबाट १८ करोड ४५ लाख रुपैयाँ संकलन गर्न लागेको छ । कम्पनीले सर्वसाधारणबाट पैसा उठाएर कम्पनीको चुक्ता पुँजी बढाउन लागेको हो । वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ १०० .५९ रुपैयाँ रहेको छ । कम्पनीको हाल चुक्ता पुँजी ५२ हजार ५० लाख रुपैयाँ छ । यो संस्थापक लगानीकर्ताबाट उठाइएको पुँजी हो । अब सर्वसाधारणबाट १८ करोड ४५ लाख र वैदेशिक रोजगारमा गएकाहरूबाट, कर्मचारीबाट र कर्मचारी तथा सामूहिक लगानीकोषबाट कुल २२ करोड ५० लाख रुपैयाँ संकलन गरेर चुक्तापुँजी ७५ करोड पुर्‍याउनेछ ।

गत असार मसान्तसम्म कम्पनीले २७ लाख ५० हजार रुपैयाँ सञ्चित नाफा कमाएको छ । अघिल्लो वर्ष १५ लाख ८३ हजार मात्रै नाफा कमाएकोमा कम्पनीले गतवर्ष नाफा बढाएको थियो । आउने तीन वर्षभित्र कम्पनीले यस्तो नाफा २७ लाखबाट बढाएर २ करोड ७४ लाख पुर्‍याउने लक्ष्य लिएको छ । जसअनुसार कम्पनीले आव २०८१/८२ मा ८४ लाख १४ हजार, आव २०८२।८३ मा १ करोड ७१ लाख र आव २०८३।८४ मा २ करोड ७४ लाख रुपैयाँ पुर्‍याउने प्रक्षेपण गरेको छ ।

यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ पनि अघिल्लो आर्थिक वर्षको तुलनामा सामान्यले मात्रै बढेको छ । आव २०७९/८० मा १००.३४ रुपैयाँ रहेकोमा गतवर्ष १००.५९ रुपैयाँ पुगेको छ । आगामी तीन वर्षमा प्रतिशेयर नेटवर्थ पनि बढेर १०४.११ रुपैयाँमा पुग्ने प्रक्षेपण कम्पनीको छ । आ.व.२०८०/८१ को व्यवस्थापन तथा लेखापरिक्षकबाट प्रमाणित अपरिष्कृत वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीको सञ्चित मुनाफा २७ लाख ५० हजार रुपैयाँ र खुद नाफा १३ लाख ११ हजार रहेको छ। त्यस्तै यस अवधिको आधारभूत प्रति शेयर आम्दानी २५ पैसा रहेको छ।

यस कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी भने एक रुपैयाँभन्दा कम नै छ। गत आर्थिक वर्ष २०७९/८० मा ३४ पैसा प्रतिशेयर आम्दानी रहेको यस कम्पनीको गत असार मसान्तमा आइपुग्दा घटेर २५ पैसा कायम भएको छ । कम्पनीले आउने तीन वर्षमा प्रतिसेयर आम्दानी १ रुपैयाँ ५४ पैसा पुग्ने प्रक्षेपण गरेको छ ।

वित्तीय सूचकका आधारमा लगानीका लागि यो कम्पनी मध्यजोखिमयुक्त मानिन्छ । रेटिङ कम्पनी केयर रेटिङ नेपाल लिमिटेडले साउन २३ गते माइनस बीबी प्रदान गरेको छ । जसले मध्यमखालको जोखिमयुक्त भन्ने जनाउँछ ।

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड कम्पनी ऐन, २०६३ बमोजिम नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेडको रुपमा स्थापित कम्पनी हो । यस कम्पनी २०७९ पुस ११ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई बीमा ऐन, २०७९ बमोजिम नेपाल बीमा प्राधिकरणबाट २०७९ चैत २७ मा लघु जीवन बिमा व्यवसाय गर्ने लाईसेन्स पाएको हो ।

कम्पनीको रजिष्टर्ड कार्यालय मोरङ्ग जिल्ला, विराटनगर महानगरपालिका वडा नम्बर ७, मा रहेको छ । कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा १ प्रदेश कार्यालय, ३ शाखा कार्यालय, १८ उपशाखा कार्यालय र १ एक्स्टेन्सन काउण्टर गरी २३ स्थानबाट आफ्नो लघु जीवन बीमा सम्बन्धी कारोबार गर्दै आइरहेको छ । कम्पनीले २०८० असार २२ गते देखि लघु जीवन बीमा सम्बन्धी कारोबार सञ्चालन गर्दै आइरहेको छ ।

आईपीओको रकमको उपयोग

कम्पनीले आईपीओ मार्फत कुल २२ करोड ५० लाख रुपैयाँ संकलन गर्ने छ । जस मध्ये २२ करोड ३० लाख रकम कम्पनीले बैंक तथा वित्तीय संस्थाद्वारा जारी मुद्दती निक्षेपमा लगानी गर्ने र बाँकि २० लाख रुपैयाँ शाखा विस्तार तथा भौतिक पूर्वाधारको अभिवृद्धिमा खर्च हुने कम्पनीले जनाएको छ । बीमा कम्पनीले ३० प्रतिशत शेयर सर्वसाधारणलाई जारी गर्नु पर्ने व्यवस्था भए अनुसार कम्पनीले आईपीओ निष्काशन गर्न लागेको हो।

पुँजी

कम्पनीको अधिकृत पुँजी ८० करोड रहेको छ । कम्पनीको तत्काल जारी शेयर पुँजी ७५ करोड रहेको छ। हाल कम्पनीको संस्थापकहरुबाट चुक्ता पुँजी ५२ करोड रहेको छ । कम्पनीले २२ करोड ५० लाख बराबरको आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपाली तथा सर्वसाधारणलाई निष्काशन गर्ने छ। आईपीओपछि कम्पनीको चुक्ता पुँजी ७५ करोड पुग्नेछ । आईपीओ पश्चात कम्पनीमा संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व अनुपात क्रमश ७५ः२५ कायम हुने छ ।

यी हुन् ठूला शेयरधनी र सञ्चालक

कम्पनीमा सबैभन्दा धेरै लगानी दिपक भट्टको ११ लाख २५ हजार र एस जि फिन्कोर्ष प्रालिको पनि ११ लाख २५ हजार कित्ता शेयर स्वामित्व रहेको छ । अन्य ठूला शेयरधनीमा नेब्बुल्लस क्यापिटल प्रालि, राज बहादुर शाह, हुलास अटोक्राफ्ट प्रा।लि, शुभम दुगड,मेटा इनभेष्टमेन्ट कम्पनी प्रा।लि, प्रिन्टसेल इमेजिंग प्रालि, लिला अग्रवाल, सुलोचना अग्रवाल, लियोन मोटर्स प्रालि, साक्षी बसंल (गुप्ता), आकाश गुप्ता , र लतिका गोल्याण रहेका छन् ।

कम्पनीको सञ्चालकहरुमा एक्सप्लोर इण्टरनेशनल प्रालिका तर्फबाट उदिप श्रेष्ठ, जय प्रकाश जैसवाल, उदय नारायण भट्टराइ, सि.ए. त्रिशिला झुनझुनवाला , र प्रमोद प्रसाद भट्टराइ रहेका छन् । कम्पनीका अध्यक्षमा पन्चकन्या ग्रुपमा सन २००९ देखि हाल सम्म कार्यकारी निर्देशकको रुपमा कार्यरत रहेका उदिप श्रेष्ठ छन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृतमा चिरायु भण्डारी रहेका छन् । भण्डारी नेपाल रि इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृत पदमा ४ बर्ष सेवा गरेका व्यक्ति हुन् । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे हुन् । उनी नेपाल बीमा प्राधिकरणमा ६ वर्ष चार्टड एकाउन्टेन्ट थिए । कम्पनीको मुख्य प्रबन्धकमा कैलाश देवकोटा र सुनिता कोइराला रहेका छन् ।कम्पनीमा कुल ६१ कर्मचारी छन् , जसमध्ये २१ स्थायी छन् ।

बिक्री प्रबन्धक र प्रत्याभूतिकर्ता

कम्पनीले शेयर निष्काशन गर्नको लागि कुमारी क्यापिटललाई १ लाख रुपैयाँ सेवा शुल्क प्रदान गर्ने बिक्री प्रबन्धक नियुक्त गरेको छ। त्यस्तै कम्पनीको शेयर बिक्री नभएमा बिक्री नभएको शेयर खरिद गर्नको लागि कम्पनीले नेपाल एसबिआई मर्चेन्ट बैंकिंगलाई प्रत्याभूतिकर्ता नियुक्त गर्ने छ। सो सेवा वापत कम्पनीले नेपाल एसबिआईलाई १० लाख १२ हजार ५०० रुपैयाँ प्रदान गर्ने छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै