काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले बीमा कार्यक्रमअन्तर्गत सेवा प्रवाह गर्ने स्वास्थ्य संस्थाहरूलाई नियमविपरीत काम नगर्न कडा चेतावनी दिएको छ । केही अस्पतालले बीमितलाई आफ्नै फार्मेसीबाट औषधि नदिई बाहिरका निजी पसलमा पठाउने गरेको गुनासो बढेपछि बोर्डले यस्तो निर्देशन जारी गरेको हो ।
बोर्डले बिहीबार जारी गरेको सूचनाअनुसार कतिपय सेवा प्रदायक संस्थाहरूले बीमाको सूचीमा रहेका औषधि तथा स्वास्थ्य सामग्रीहरू बीमितलाई उपलब्ध नगराई बाहिरबाट नगदमा किन्न लगाएको पाइएको छ । यस्तो कार्य स्वास्थ्य बीमा ऐन २०७४, नियमावली २०७५ र प्रचलित निर्देशिकाको प्रत्यक्ष उल्लंघन भएको बोर्डको ठहर छ ।
नियम मिचे कडा कारबाही
बोर्डका नीति योजना शाखा प्रमुख एवं वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डा. पवन कुमार साहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अनुगमनका क्रममा कुनै स्वास्थ्य संस्थाबाट नियमविपरीत कार्य भएको प्रमाणित भएमा स्वास्थ्य बीमा नियमावली २०७५ को नियम १९ बमोजिम कडा कारबाही गरिनेछ ।”
बोर्डले अबदेखि यस्ता गतिविधि नगर्न र सम्बन्धित ऐन तथा कार्यविधिको पूर्ण पालना गर्न सबै सेवा प्रदायक अस्पताल तथा स्वास्थ्य केन्द्रहरूलाई आग्रह गरेको छ । नियम पालना नगर्ने संस्थासँगको बीमा सम्झौता समेत रद्द हुन सक्ने प्रावधानतर्फ बोर्डले ध्यानाकर्षण गराएको छ ।
