नेपाल लाइफले अधिकतम ८५ रुपैयाँसम्म बोनस दिने,नयाँ बोनसदर सार्वजनिक

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका बीमितहरूले प्रतिहजार अधिकतम ८५ रुपैयाँसम्म बोनस पाउने भएका छन् । कम्पनीको नयाँ बोनसदर नेपाल बीमा प्राधिकरणले पुस १२ गते स्वीकृत गरेपछि बीमितिले पाउने नयाँ बोनसदर सार्वजनिक गरिएको हो ।

कम्पनीले सावधिक जीवन बीमालेख योजनामा बीमितले बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम ६० देखि अधिकतम ८२ रुपैयाँसम्म बोनस पाउने छन् । यस योजनामा सुरक्षित जीवन, जीवन ज्योति, ग्रामीण सावधिक, लघु सावधिक, केटाकेटी सुनिश्चित भविष्य तथा शिक्षा जीवन बीमा, जीवन लक्ष्मी र जीवद उदय एकल जस्ता बीमा योजना समावेश छन् ।

त्यस्तै सावधिक जीवन बीमालेख अन्तर्गतकै नौलो सुरक्षित र नौलो केटाकेटी जीवन बीमा योजनामा बीमितले बीमा अवधिअनुसार ६५ देखि ८२ रुपैयाँसम्म बोनस पाउने कम्पनीले जनाएको छ । सोही प्रकारले जीवन समुन्नत बीमा योजनामा प्रतिहजार ५६ देखि ७० रुपैयाँसम्म बोनसको व्यवस्था गरिएको छ ।

सुनौलो भविष्य जीवन बीमा योजनामा विकल्प १ र २ का लागि ६० देखि ६५ रुपैयाँसम्म बोनस प्रदान गरिनेछ । यस्तै सुनौलो भविष्य जीवन बीमाको एकल बीमाशुल्क योजनामा बीमितले ५५ देखि ६० रुपैयाँसम्म बोनस प्राप्त गर्न सक्नेछन् ।

सावधिक जीवन बीमालेखकै केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजनामा बीमितले ६० देखि ६२ रुपैयाँसम्म र जीवन साहारा र अनमोल जीवन बीमा योजनामा ६० देखि ८२ रुपैयाँसम्म बोनस दिइने कम्पनीले उल्लेख गरेको छ ।

अग्रिम भुक्तानी सबै योजनाहरूमा समान ५६ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ। त्यसैगरी अन्य योजनाहरू जस्तै जीवन सारथी योजनामा बीमितहरूलाई ६२ देखि ८५ रुपैयाँसम्म बोनस दिनेगरी कम्पनीले स्वीकृती पाएको छ ।

कम्पनीले आर्थिक वर्ष २०८०।८१ को आर्थिक स्थितिको समीक्षा र बीमाङ्कीय प्रतिवेदनको आधारमा नयाँ बोनसदर तयार गरेको हो । साथै कम्पनीको आगामी बीमाङ्कीय मूल्याङ्कन नभएसम्मका लागि अन्तरिम बोनसदर यही लागू हुने छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै