एनएलजीको हकप्रद भर्नुभयो ? आज अन्तिम दिन

काठमाडौँ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने आज पुस १६ गते मंगलबार अन्तिम दिन रहेको छ । कम्पनीले मंसिर ११ गतेदेखि चुक्ता पुँजीको ६२.५६ प्रतिशत हकप्रद निष्काशन तथा बिक्री खुला गरेको छ ।

बुकक्लोज अनुसार लगानीकर्ताले मंगलबार ५ बजेभित्र हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । हकप्रद शेयर निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले कात्तिक २७ गते बुकक्लोज गरेको थियो। जस अनुसार कात्तिक २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका शेयरधनीहरुले सो हकप्रद शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।

इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सीडिएस एण्ड क्लियरिङ लिमिटेडले विकास गरेको मेरो शेयरको मोबाइल एप तथा वेव भर्सनबाट सजिलै हकप्रद भर्न सक्नेछन् । यसका साथै
बिक्री प्रबन्धकका साथै एनएलजी इन्स्योरेन्सका केन्द्रिय तथा क्षेत्रिय कार्यालयहरु र लक्ष्मी सनराइज बैंकका काठमाडौँ उपत्यका बाहिरका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सि आस्वा प्रणालीमार्फत पनि हकप्रदमा आवेदन दिन सकिनेछ ।

इन्स्योरेन्सले निष्काशन गरेको हाल कायम चुक्ता पुँजी १ अर्ब ५३ करोड ९५ लाख ३६ हजार १०० रुपैयाँको ६२.५६ प्रतिशत (१० कित्ता शेयर बराबर नयाँ ६.२५६ कित्ता) अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। यस अनुसार इन्स्योरेन्सले ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ९६ लाख ३१ हजार २२०।२२ कित्ता हकप्रद शेयर निष्काशनमा ल्याएको हो । हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार ९८२ रुपैयाँ पुग्नेछ ।

हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले इन्स्योरेन्सलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए माइनस प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै