काठमाडौँ । नेपालको सबैभन्दा पुरानो निर्जीवन बीमा कम्पनी नेपाल इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बाढी–पहिरो र आन्दोलनको प्रभावका बाबजुद कम्पनीले आफ्नो व्यवसाय (बीमा शुल्क) मा उल्लेख्य वृद्धि गरेको छ ।
व्यवसाय ५२ करोड नाघ्यो
कम्पनीले पुस मसान्तसम्म ५२ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको सोही अवधिको (३२ करोड ८३ लाख) तुलनामा ५८.३९ प्रतिशतको उच्च वृद्धि हो । यस्तै कम्पनीको कुल आम्दानी पनि २५.९१ प्रतिशतले बढेर ७१ करोड ८ लाख रुपैयाँ पुगेको छ ।
खर्च बढ्दा नाफामा दबाब
व्यवसाय बढे पनि खर्चको वृद्धिदर उच्च हुँदा कम्पनीको खुद नाफामा भने संकुचन देखिएको छ । समीक्षा अवधिमा कम्पनीको कुल खर्च ६२.०१ प्रतिशतले बढेर ७० करोड १२ लाख रुपैयाँ पुगेको छ ।
खर्चको यही भारका कारण गत वर्ष १०.४६ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी (EPS) घटेर ०.३९ रुपैयाँमा सीमित भएको छ ।
मुख्य वित्तीय सूचकहरू:
खुद बीमा शुल्क: ५२ करोड रुपैयाँ (५८.३९% वृद्धि)
प्रतिसेयर आम्दानी: ०.३९ रुपैयाँ
प्रतिसेयर नेटवर्थ: १७०.११ रुपैयाँ
अभिकर्ता कमिसन: ७६ लाख ३६ हजार रुपैयाँ (२२.७९% वृद्धि)
पुँजी र सञ्चिति:
चुक्ता पुँजी २ अर्ब ५८ करोड रुपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा ११ करोड २४ लाख र जगेडा कोषमा ४१ लाख ७९ हजार रुपैयाँ सञ्चित रहेको छ ।