काठमाडौँ । निर्जीवन बीमा क्षेत्रको अग्रणी संस्था शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड चालू आर्थिक वर्षको दोस्रो त्रैमास (पुस मसान्त) सम्म ४ करोड ४७ लाख रुपैयाँ खुद घाटामा गएको छ । गत आवको सोही अवधिमा कम्पनीले २५ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीले आज सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार, व्यवसाय विस्तारमा उल्लेख्य सुधार देखिए पनि खर्चमा भएको उच्च वृद्धिका कारण नाफा ऋणात्मक हुन पुगेको हो ।
व्यवसाय विस्तार उत्साहजनक, खर्च नियन्त्रण बाहिर
कम्पनीले समीक्षा अवधिमा ७८ करोड ५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत वर्षको तुलनामा २२.४१ प्रतिशतको वृद्धि हो। गत वर्ष पुससम्म कम्पनीले ६३ करोड ७६ लाख रुपैयाँ मात्र बीमाशुल्क संकलन गरेको थियो।
कुल आम्दानी १ अर्ब १६ करोडबाट ५.७१ प्रतिशतले बढेर १ अर्ब २३ करोड पुगेको छ। तर, सोही अवधिमा कम्पनीको कुल खर्च ६२.१५ प्रतिशतले बढेर १ अर्ब २९ करोड ९३ लाख रुपैयाँ नाघेको छ। खर्चको यही भारी वृद्धिका कारण कम्पनीको सञ्चालन नतिजा प्रभावित भएको देखिन्छ।
मुख्य वित्तीय सूचकहरू:
नाफा/घाटा: ४.४७ करोड रुपैयाँ ऋणात्मक (गत वर्ष २५.७३ करोड नाफा)
प्रतिसेयर आम्दानी (EPS): ३.०६ रुपैयाँ ऋणात्मक (गत वर्ष १९.३९ रुपैयाँ सकारात्मक)
सोल्भेन्सी अनुपात: ४.७४ प्रतिशत (सुधारिएको)
प्रतिसेयर नेटवर्थ: १९६.६४ रुपैयाँ
अभिकर्ता कमिसन: ३ करोड २२ लाख रुपैयाँ (१९.८२ प्रतिशत वृद्धि)
पुँजी र सञ्चिति अवस्था
चुक्ता पुँजी २ अर्ब ९३ करोड रुपैयाँ रहेको कम्पनीको वित्तीय आधार भने मजबुत देखिएको छ । कम्पनीको स्पेशल रिजर्भमा १ अर्ब ९१ करोड ७६ लाख, महाविपत्ति कोषमा १६ करोड ११ लाख र जगेडा कोषमा १६ करोड ५७ लाख रुपैयाँ सञ्चित छ ।
कम्पनीले हालसम्म ४ अर्ब ६६ करोड ९२ लाख रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेको छ ।