काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १८औँ वार्षिक साधारण सभा विराटनगरस्थित होटल ह्यारिसन प्यालेसमा भव्य रूपमा सम्पन्न गरेको छ ।
कम्पनीका सञ्चालक समितिका अध्यक्ष केशवप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न सभामा सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत, उप–प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापनका पदाधिकारी, शेयरधनी तथा विशिष्ट अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बद्ध अनुसूचीहरू विस्तृत छलफलपछि सर्वसम्मत रूपमा पारित गरेको छ । साथै आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित १३ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव पनि अनुमोदन गरिएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो आर्थिक वर्षमा गरिएका खर्चहरूलाई समेत सभाले स्वीकृति दिएको छ ।
सभालाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले कम्पनीको वित्तीय प्रगति, दीर्घकालीन रणनीति, नवीनतम बीमा सेवा विस्तार तथा डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले कम्पनीको निरन्तर सफलताको श्रेय शेयरधनीहरूको विश्वास, ग्राहकहरूको साथ, अभिकर्ताहरूको मेहनत र कर्मचारीहरूको समर्पणलाई दिए ।
साधारण सभाका क्रममा शेयरधनीहरूले कम्पनीप्रतिको विश्वास व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी सेवा र दिगो प्रगतिको अपेक्षा राखेका थिए । सभामा प्रस्तुत सबै प्रस्तावहरू सर्वसम्मत रूपमा पारित भएका छन् । कम्पनीले भविष्यमा पनि सेवा गुणस्तरलाई थप परिस्कृत गर्दै बीमितहरूको जीवनमा आर्थिक सुरक्षा र भरोसा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।
नेपालकै पहिलो आईएसओ ९००१ः२०१५ प्रमाणित सूर्यज्योति लाइफको हाल चुक्ता पूँजी ५०१ करोड रुपैयाँ रहेको छ भने जीवन बीमा कोष ४ हजार ३८३ करोड, लगानी ४ हजार ८४५ करोड तथा नेटवर्थ ६७४ करोड रुपैयाँ पुगेको छ । कम्पनीसँग १ लाख ६ हजारभन्दा बढी अभिकर्ता, ३५ लाख ८७ हजार बीमालेख र देशभर फैलिएका १७६ शाखा सञ्जाल रहेका छन्। साथै कम्पनीले नेपालमै सर्वाधिक ३५ घातक रोगविरुद्ध प्रतिव्यक्ति ५० लाख रुपैयाँसम्मको आर्थिक सुरक्षा प्रदान गर्दै आइरहेको छ ।