काठमाडौँ । कम्पनीको ३८ औँ वार्षिक साधारण सभा बुधबारका दिन कम्पनीको अध्यक्ष श्रीमती प्रेमा सिंहको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको छ ।
सभामा अध्यक्षले समिक्षा वर्ष २०८१/८२ मा विविध चुनौतिको वावजुद विश्व अर्थतन्त्र लचिलो स्थितिमा नै रहेको र कोभिड महामारी एवं भुराजनैतिक कारणले बढेको विश्व मुद्रा स्थिति अहिले आएर घट्ने क्रममा रहेको कारणले विश्वका अधिकांश केन्द्रिय बैंकहरुले लचिलो मौद्रिक नीति अवलम्बन गरेको बताए ।
नेपालको राष्ट्रिय तथ्यांक कार्यालयको अनुमान अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धि दर ४.६१ प्रतिशत रहेको अनुमान भएतापनि आ.व. २०८२/८३ मा बढ्दो राजनैतिक एंव सामाजिक अनिश्चिन्तताको कारणले वृद्धिदरमा संकुचनमा जान सक्ने आकलन गरिएको छ ।
आ.व.२०८१/८२ मा कम्पनीको ब्यवसाय सन्तोषनजनक रहेको छ । कम्पनीको कूल बीमाशुल्क १०.२६ प्रतिशतले बृद्धि भई रु.२,२५९.३७ करोड पुगेको छ । समीक्षा वर्षको संचालनवाट जम्मा रु.१,४९८.५९ करोड खूद थप रकम कूल बीमा करार दायित्वमा सारिएको छ र कूल बीमा करार दायित्व गत वर्षको तुलनामा १८.८३ प्रतिशतले बृद्धि भई वर्षान्तमा रु.९,४५८.७७ करोड पुगेको छ ।
यसैगरी कम्पनीले समीक्षा वर्षमा मृत्यु दावी, अवधि समाप्ती एवं आंशिक अवधि समाप्ती दावी, सर्मपण मूल्य, दावी एंव अन्य दावी भुक्तानीमा रु. ९४८.६५ करोड दावी भुक्तानी गरेको छ ।
कम्पनीले आफ्ना सबै लगानी योग्य रकमहरु नेपाल बीमा प्राधिकरणबाट निर्देशित क्षेत्रभित्र रहेर पारदर्शीता एवं प्रतिफलको हिसाबले अधिकतम दीर्घकालिन लगानीका औजारहरुमा लगानी गर्दै आएको र यसबाट बीमितहरुको अधिकतम् हित संरक्षण हुनेमा कम्पनी विश्वस्त रहेको छ ।
कम्पनीको कूल लगानी समिक्षा वर्षमा ११.०४ प्रतिशतले वृद्धि भई वर्षान्तमा रु.७,७९०.२० करोड पुगेको छ । कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन दीर्घकालिन निक्षेपमा अधिकतम् लगानी गर्न कम्पनी प्रयासरत छ । कम्पनीको लगानीमा वार्षिक औसत प्रतिफल दर सन्तोषजनक छ र आ.व.२०८१/८२ मा सो दर ८.७६ प्रतिशत कायम रहेको छ ।
कम्पनीले आफ्नो लगानी विविधिकरण गर्न प्रयासरत रहेको र सोही क्रममा कम्पनीले आ.व.२०८२/८३ मा हिमालयन बैंकको २,८०,१२,४४७.४५ कित्ता संस्थापक शेयर रु.३,३३,०१,१९,७५२ ८५ मा खरीद गरेको र उक्त बैंकमा कम्पनीको शेयर स्वामित्व हिस्सा १३.६१ प्रतिशत पुगेको छ । यसै गरी कम्पनीले मर्चेण्ट बैंकरको रुपमा प्रवर्धन गरेको सहायक कम्पनी नेशनल क्यापिटल लि.ले आवश्यक ईजाजतपत्र प्राप्त गरी संचालनमा आएको छ र आ.व.२०८१/८२ को लागि पहिलो पल्ट ७ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।
कम्पनीले आफ्नो ईटहरी शाखाको लागि आफ्नो स्वामित्वमा रहेको जग्गामा नयाँ आधुनिक ब्यापारिक भवन निर्माण प्रकृया पनि अघि बढाएको छ । कम्पनीलाई प्रविधि मैत्री बनाउन यथा शक्य लगानी भैरहेको छ । यसैगरी कम्पनीमा कर्मचारीहरुलाई प्रशिक्षित गर्न आवश्यक प्राविधिक तालिम प्रदान गर्नमा कम्पनी केन्द्रिय रहेको छ ।
कम्पनीले ब्यवसायीक लक्ष्य र संस्थागत सामाजिक उत्तरदायित्व बीचको सन्तुलनलाई निरन्तरता दिई नियमनकारी निकायको निर्देशन अनुसार खूद नाफाको १ प्रतिशत बराबर रकम सामाजिक उत्तरदायित्व जगेडामा स्थानान्तर गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व शीर्षक अन्तर्गत कम्पनीले विशेष गरी स्वास्थय र शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको छ ।
यसै सन्दर्भमा समिक्षा वर्षमा कम्पनीले “प्रधानमन्त्री दैबी प्रकोप राहत कोषमा रु. २५ लाख र केटाकेटीको स्वास्थ्य उपचार सम्बन्धि परियोजनाको लागि Kathmandu Institute of Child Health संस्थालाई रु. २५ लाख समेत गरी कूल ७० लाख २५ हजार ५०० रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
३८ औं वार्षिक साधारण सभाले आ.व. २०८१/८२ को लागि कम्पनीको अद्यावधिक चुक्ता पूँजी ५ अर्ब ४७ करोड २७ लाख ३९ हजार ७३६ रुपैयाँमा ८.५ प्रतिशतका दरले नगद लाभांश ४६ करोड ५१ लाख ८२ हजार ८७८ रुपैयाँ र ४ प्रतिशतका दरले बोनस शेयर लाभांश २१ करोड ८९ लाख ९ हजार ५८९ रुपैयाँ साथै उक्त नगद एवं बोनस लाभांशमा कर प्रयोजनको लागि ३ करोड ६० लाख ४ हजार ८६७ रुपैयाँ नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
नियामक निकायले जीवन बीमा कम्पनीको चुक्ता पूँजी ५ अर्ब पुर्याउनु पर्ने वाध्यात्मक ब्यवस्था गरेकोमा हाल कायम रहेको चुक्ता पूँजी ५ अर्ब ४७ करोड २७ लाख ३९ हजार ७३६ रुपैयाँमा ४ प्रतिशतको वोनस शेयर थप भई कूल चुक्ता पूँजी ५ अर्ब ६९ करोड १६ लाख ४९ हजार ३२५ रुपैयाँ पुगेको छ ।
सभामा अध्यक्षले आउने दिनहरुमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी एक मूख्य बीमकको रुपमा आम सर्व साधारणको जीवन बीमाको आवश्यकता परिपूर्ती गर्नमा अग्रणी भूमीका निर्वाह गरिरहने विश्वास ब्यक्त गरे ।