दाबी भुक्तानी ९५% ले बढ्दा नेको इन्स्योरेन्स ८ करोड ३१ लाख घाटामा, ईपीएस ऋणात्मक

काठमाडौँ । दाबी भुक्तानीमा भएको अत्यधिक वृद्धिका कारण नेको इन्स्योरेन्स लिमिटेड चालू आर्थिक वर्षको पहिलो त्रैमासमा घाटामा गएको छ ।

कम्पनीले यस अवधिसम्म ८ करोड ३१ लाख रुपैयाँ नोक्सानी (घाटा) बेहोरेको छ। जबकी, अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनी ७ करोड ४ लाख रुपैयाँ खुद नाफा मा रहेको थियो ।

दाबी भुक्तानीमा ठूलो चाप:

वित्तीय विवरण अनुसार, घाटाको मुख्य कारण दाबी भुक्तानीमा भएको भारी वृद्धि हो । कम्पनीले यस अवधिमा ४५ करोड ६८ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ९५.७३ प्रतिशतले बढी हो ।

यस्तै, कम्पनीको कुल खर्च पनि ३९ करोड ८२ लाख रुपैयाँबाट बढेर ६३ करोड ८७ लाख रुपैयाँ पुगेको छ ।

सकारात्मक पक्ष:

यद्यपि, कम्पनीको खुद बीमा शुल्क आर्जन भने बढेको छ। अघिल्लो आवमा २८ करोड ५१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले चालू आवमा बढाएर २९ करोड ५४ लाख रुपैयाँ पुर्‍याएको छ ।

प्रतिशेयर सूचक तथा कोष:

नोक्सानीसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) १२ रुपैयाँ ३५ पैसाले ऋणात्मक भएको छ। यस्तै, मूल्य आम्दानी अनुपात पनि ४६.९४ गुणाले ऋणात्मक रहेको छ ।

२ अर्ब ६९ करोड चुक्ता पुँजी भएको कम्पनीको पहिलो त्रैमाससम्म प्रतिशेयर नेटवर्थ २२७ रुपैयाँ १५ पैसा र प्रतिशेयर कुल सम्पत्तिको मूल्य ४४४ रुपैयाँ ८५ पैसा रहेको छ। कम्पनीको महाविपत्ति कोषमा १६ करोड ५८ लाख रुपैयाँ र सञ्चित आम्दानी (Retained Earnings) मा ४८ करोड ७४ लाख रुपैयाँ सञ्चित छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै