Close This

इन्धन मूल्यवृद्धिसँगै आयल निगम संकटमा, खपत घटाउन अपिल

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको तीव्र वृद्धिसँगै नेपाल आयल निगम गम्भीर वित्तीय संकटमा परेको छ । निगमले सार्वजनिक अपिल जारी गर्दै खपत नघटाए र मूल्य समायोजन नगरे इन्डियन आयल कर्पोरेसन (आईओसी) लाई भुक्तानी गर्न नसक्ने र इन्धन आपूर्ति संकट आउन सक्ने चेतावनी दिएको छ ।

निगमका कार्यकारी निर्देशक चण्डिका भट्टका अनुसार ३० मार्चदेखि ८ अप्रिल २०२६ सम्मको मूल्य वृद्धिको आधारमा निगमलाई पाक्षिक करिब १४ अर्ब अर्थात दैनिक ९३ करोड रुपैयाँ घाटा हुने देखिएको छ । सरकारले भन्सार महसुल र पूर्वाधार करमा ५०% छुट दिए पनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढिरहेकाले त्यसको प्रभाव सीमित भएको जनाएको छ ।

यही परिस्थितिमा निगमले चैत २६ गतेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ, डिजेल र मट्टितेलमा २५ रुपैयाँ, एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ र हवाई इन्धनमा ६ रुपैयाँ मूल्य वृद्धि गरेको छ। मूल्य वृद्धि पछि पनि निगमलाई अझै पाक्षिक करिब ८ अर्ब घाटा रहने प्रक्षेपण गरिएको छ ।

निगमले ८ अप्रिलमा आईओसीलाई २६ अर्ब ८६ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ भने आगामी २३ अप्रिलका लागि थप १६ अर्ब ३७ करोड रुपैयाँ व्यवस्थापन गर्नुपर्ने चुनौती रहेको जनाएको छ ।

छिमेकी देशहरू श्रीलंका, पाकिस्तान र बंगलादेशले इन्धन संकट व्यवस्थापनका लागि कोटा प्रणाली, जोर–बिजोर सवारी सञ्चालन तथा अनलाइन कक्षा जस्ता उपाय अपनाएको स्मरण गराउँदै निगमले नेपाली उपभोक्तालाई पनि मितव्ययिता अपनाउन आग्रह गरेको छ ।

निगमका अनुसार यदि एक बाइकले दैनिक १ लिटर र एक गाडीले १ लिटर इन्धन बचत गरेमा राज्यले दैनिक २६ करोड रुपैयाँ बचत गर्न सक्छ। यसरी १५ दिनमा ३९० करोड रुपैयाँ बचत सम्भव हुने भन्दै निगमले अनावश्यक सवारी प्रयोग नगर्न र इन्धन खपत घटाउन सबैसँग अपिल गरेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै