काठमाडौँ । नेपाल टेलिकमको हाकिम भन्दै एक करोड बढी ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीका तुलाराम कोली रहेका छन् ।
कोलीले नेपाल टेलिकम लगायत अन्य सरकारी तथा अर्धसरकारी निकाय र संस्थानहरूमा करारमा जागिर लगाइदिने तथा कृषि अनुदान उपलब्ध गराइदिने भन्दै ठगी गरेको प्रहरीले जनाएको छ ।
कोलीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरेको हो । उनलाई पक्राउ गरी कैलाली जिल्ला अदालतबाट ठगी मुद्दामा म्याद थप गरेर यस कार्यालयको हिरासत कक्षमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उनीविरुद्ध हालसम्म जिल्ला प्रहरी कार्यालय कैलालीमा १ करोड १९ लाख बिगो बराबरको ठगीसम्बन्धी १० वटा उजुरी प्राप्त भई अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।