काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिना (मंसिर मसान्त) मा वाणिज्य बैंकहरूको नाफामा संकुचन देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार २० वाणिज्य बैंकहरूले कुल २५ अर्ब ७२ करोड ५ लाख रुपैयाँ नाफा कमाएका छन् । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५.९२ प्रतिशतले कमी हो ।
गत आर्थिक वर्षको यसै अवधिमा बैंकहरूले ३० अर्ब ५९ करोड २८ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए । खराब कर्जा र घट्दो ब्याजदरको प्रभावका कारण बैंकहरूको आम्दानीमा दबाब परेको विश्लेषण गरिएको छ ।
नाफाका आधारमा बैंकहरूको अवस्था:
मंसिर मसान्तसम्मको अवधिमा ग्लोबल आइएमई बैंक ३ अर्ब २२ करोड नाफासहित पहिलो स्थानमा रहेको छ भने नबिल बैंक ३ अर्ब ११ करोडसहित दोस्रो स्थानमा छ। सिटिजन्स बैंक भने २४ करोड नाफासहित सूचीको अन्तिम स्थानमा देखिएको छ।
| बैंकको नाम | नाफा (रु. करोडमा) | अवस्था (गत वर्षको तुलनामा) |
| १. ग्लोबल आइएमई बैंक | ३२२.२६ | बढेको |
| २. नबिल बैंक | ३११.७७ | घटेको |
| ३. प्राइम कमर्सियल बैंक | १९२.५९ | घटेको |
| ४. एभरेष्ट बैंक | १८९.६८ | घटेको |
| ५. एनएमबी बैंक | १६५.५७ | घटेको |
| ६. कुमारी बैंक | १५२.४७ | घटेको |
| ७. नेपाल इन्भेष्टमेन्ट मेगा (NIMB) | १२३.२४ | घटेको |
| ८. सिद्धार्थ बैंक | १००.१७ | बढेको |
| ९. राष्ट्रिय वाणिज्य बैंक | १०९.६४ | बढेको |
| १०. सानिमा बैंक | १०६.२८ | बढेको |
| ११. प्रभु बैंक | ११६.७४ | घटेको |
| १२. स्टान्डर्ड चार्टर्ड बैंक | ११६.३७ | घटेको |
| १३. हिमालयन बैंक | ११३.१५ | घटेको |
| १४. लक्ष्मी सनराइज बैंक | ९२.६६ | घटेको |
| १५. नेपाल एसबीआई बैंक | ९०.४७ | घटेको |
| १६. माछापुच्छ्रे बैंक | ८४.३५ | घटेको |
| १७. एनआईसी एशिया बैंक | ५९.४५ | घटेको |
| १८. नेपाल बैंक | ५९.०४ | घटेको |
| १९. कृषि विकास बैंक | ४१.७१ | घटेको |
| २०. सिटिजन्स बैंक | २४.३७ | घटेको |
नाफा बढाउने भाग्यमानी ४ बैंक
समग्र बैंकिङ क्षेत्रको नाफा घट्दा पनि चारवटा बैंकले भने आफ्नो नाफामा वृद्धि गरेका छन् । राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंक, सिद्धार्थ बैंक र ग्लोबल आइएमई बैंकको नाफामा अघिल्लो वर्षको तुलनामा सुधार देखिएको छ । अन्य १६ बैंकको नाफामा भने गिरावट आएको छ ।