काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडद्वारा प्रवर्द्धित तथा माछापुच्छ्रे क्यापिटल लिमिटेडद्वारा सञ्चालित खुलामुखी सामूहिक लगानी कोष योजना “माछापुच्छ्रे एसआइपी योजना” को इकाई खरिद, पुनर्खरिद तथा बिक्री सेवा चैत्र १ गते देखि सुरु गरिएको छ।
नेपाल धितोपत्र बोर्डबाट स्वीकृत विवरणपत्रअनुसार प्रारम्भिक निष्काशनमा जारी गरिएका इकाईहरूको निष्काशन तथा बाँडफाँड सम्पन्न भएको मितिले तीन महिनाभित्र इकाई खरिद–बिक्री गर्न मिल्ने व्यवस्थाबमोजिम उक्त सेवा सुरु गरिएको हो।
उक्त योजनाको इकाई खरिद, पुनर्खरिद तथा बिक्रीका साथै एसआइपीमा सहभागी हुनका लागि माछापुच्छ्रे क्यापिटल लिमिटेडको दर्ता कार्यालय जेडीए कम्प्लेक्स, बागदरबार, काठमाडौं तथा माछापुच्छ्रे बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरूबाट सेवा लिन सकिने व्यवस्था गरिएको छ।
साथै कम्पनीको आधिकारिक वेबसाइटमा लगइन गरी अनलाइन भुक्तानी सेवा प्रदायकहरू इसेवा, खल्ती तथा कनेक्ट आइपिएस मार्फत भुक्तानी गरी कारोबार गर्न सकिने व्यवस्था रहेको जनाइएको छ।
एमबीएल सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित “माछापुच्छ्रे एसआइपी योजना” पहिलो खुलामुखी योजना हो। यस योजनाको कुल स्वीकृत आकार ५ करोड इकाई रहेको छ। पहिलो चरणमा उक्त योजनाको १० रुपैयाँ अंकित दरका २ करोड इकाई २०८२ मंसिर १४ गतेदेखि मंसिर १७ गतेसम्म सार्वजनिक रूपमा निष्काशन तथा बिक्री खुला गरिएको थियो।
उक्त अवधिमा एकाउन्न हजार सात सय सन्ताउन्न जना आवेदकहरूबाट जम्मा ३ करोड १९ लाख ३६ हजार ७ सय ७० इकाई खरिदका लागि रीतपूर्वक आवेदन प्राप्त भएको थियो। रीतपूर्वक आवेदन गर्ने आवेदकहरूलाई २०८२ पुस १ गते इकाई बाँडफाँड गरिएको थियो।
माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो। सार्वजनिक लिमिटेड कम्पनीका रूपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निष्काशन तथा बिक्री व्यवस्थापन, सेयर दर्ता सेवा, निक्षेप सदस्य तथा सामूहिक लगानी कोषसम्बन्धी सेवाहरू प्रदान गर्दै आएको छ ।