काठमाडौँ । कालिन्चोक हाइड्रोपावर लिमिटेड आईपीओ बाँडफाँड भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओ शेयर बाँडफाँड गरेको हो ।
कम्पनीले फागुन १३ गतेदेखि फागुन १७ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ८२ हजार ५ कित्ता शेयर निष्काशन गरेको थियो। आरविवि मर्चेन्टका अनुसार यस निष्काशनमा ८३ हजार ६०६ जनाको आवेदन परेको थियो । जसमध्ये ९ हजार ३८ जनाबाट माग भएको १ लाख ७० हजार २४० कित्ताको माग रद्द गरिएको छ । बाँकी रहेको ७४ हजार ५६८ जनाबाट परेको ९ लाख ९३ हजार ६२० कित्ताको आवेदन मात्र योग्य भएको बिक्री प्रबन्धक आरविवि मर्चेन्टले जानकारी दिएको छ ।
माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको हो। जसमा ८ हजार २५० जनाले १० कित्ताको दरले शेयर पाएका छन् भने बाँकी आवेदक भने हात खाली भएका छन् । उच्च आवेदनका कारण ६६ हजार ३१८ योग्य आवेदक नै शेयर पाउनबाट बञ्चित भएका हुन् ।
नेपाल धितोपत्र बोर्डले माघ १९ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो ।
इन्दिरा पन्त अध्यक्ष रहेको यस कम्पनीले दोलखामा ५ मेगावाट क्षमताको सोरुन खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको ८३ प्रतिशत कार्य सम्पन्न भएको छ ।