काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन आज (सोमबार) देखि नयाँ ‘सर्किट’ व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।
‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ मा गरिएको पछिल्लो संशोधन अनुसार अब सूचीकृत कम्पनीहरूको शेयर मूल्य एकै दिनमा १५ प्रतिशतसम्म घटबढ हुन पाउनेछ ।
यसअघि यस्तो सीमा १० प्रतिशत मात्र रहेको थियो । अन्तर्राष्ट्रिय अभ्यास र नेपाली पूँजी बजारमा बढ्दो लगानीकर्ताको आकर्षणलाई मध्यनजर गर्दै यो परिवर्तन गरिएको नेप्सेले जनाएको छ ।
बजारमा के प्रभाव पर्ला ?
मूल्य सीमा (Price Band) १५ प्रतिशत पुर्याउँदा बजार थप ‘भोलाटाइल’ (अस्थिर) हुन सक्ने देखिए पनि यसले बजारलाई वास्तविक मूल्य खोज्न (Price Discovery) र तरलता बढाउन सहयोग पुग्ने विश्लेषकहरूको भनाइ छ ।
यो व्यवस्थाले लगानीकर्ताहरूलाई बजारको प्रवृत्ति अनुसार छिटो निर्णय लिन र अवसरको लाभ उठाउन मद्दत पुग्ने विश्वास गरिएको छ ।
नयाँ व्यवस्था लागू भएसँगै नेप्सेको कारोबार प्रणाली (TMS) मा पनि सोही अनुसारको सुधार गरिएको छ । यसले नेपालको पूँजी बजारलाई अन्तर्राष्ट्रिय मापदण्डतर्फ लैजाने र बजारलाई थप परिपक्व बनाउने अपेक्षा गरिएको छ ।