दीपक भट्ट समूहसँग जोडिएको बीमामा गृहमन्त्रीको लगानी खुलासा

काठमाडौँ ।  चर्चित बिचौलिया तथा विवादास्पद व्यापारी दीपक भट्ट समूहले सेटिङमा हात पारेको एक लघु बीमा कम्पनीमा गृहमन्त्री सुधन गुरुङ पनि सेयर होल्डर रहेको तथ्य भेटिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी अपराधको अभियोगमा हाल ललितपुरको सानेपास्थित प्रहरी हिरासतमा रहेका भट्ट समूहको लगानी रहेको कम्पनीमा गृहमन्त्री सुधन गुरुङको समेत लगानी देखिएको छ ।

२०७९ सालमा सम्पन्न संघ,प्रदेश र स्थानीय तहको निर्वाचन सकिएलगत्तै भट्टको समूहलाई पोस्ने गरी उनैद्वारा नियुक्त पूर्व गृहसचिव सूर्य सिल्वाल नेतृत्वको नेपाल बीमा प्राधिकरणले सात वटा लघु बीमा कम्पनीलाई लाइसेन्स दिएको थियो । दीपकको दबाबमा शंकर समूह,इन्फिनिटी होल्डिङ, शेखर गोल्छा,भवानी राणा,पशुपति मुरारका,हरि न्यौपाने,किशनलाल दुगड,आरएमसीजस्ता पात्र, राजेश अग्रवाललगायतलाई फाइदा पुग्नेगरी ती कम्पनीहरूले लाइसेन्स पाएका थिए । यसरी लाइसेन्स पाउनेमध्ये एक हो-स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड ।

सुजन आचार्य अध्यक्ष रहेको यो कम्पनीमा चार जना सञ्चालक छन् । सञ्चालक रहेकी प्रजुनी बज्राचार्य भट्टकै स्वामित्व रहेको इन्फिनिटी होल्डिङकी कर्मचारी हुन् । उनीसमेत सञ्चालक रहेको कम्पनीमा ५७ जना सँस्थापक सेयरधनी छन् । दीपक भट्टसँग विवादास्पद कारोबारमा मुछिएको शंकर समूहको स्वामित्व रहेको जगदम्बा इन्टरप्राइजेजको उक्त कम्पनीमा २५ लाख रुपैयाँ बराबरको सेयर देखिन्छ । त्यति बराबरको रकम अर्थात् २५ लाख रुपैयाँको सेयर हालका गृहमन्त्री सुधन गुरुङको समेत रहेको तथ्य भेटिएको छ,जुन कुरा अघिल्लो हप्ताको सम्पत्ति विवरणमा लुकाइएको छ ।

सेयर लगत किताबको क्रम संख्या ४९ नम्बरमा नाम उल्लेख भएका गुरुङको स्थायी ठेगाना चुमनुब्री वडा नम्बर २,गोरखा राखिएको छ । बाबुको नाम दिलबहादुर गुरुङ भएको उक्त विवरणका सेयरधनी प्रधानमन्त्री कार्यालयले अघिल्लो साता सार्वजनिक गरेको गृहमन्त्री सुधन गुरुङको व्यक्तिगत विवरणसँग पूर्ण मेल खान्छ ।

दीपकका लागि अर्थ मन्त्रालयमा बसेर करको दर हेरफेर गरेको अभियोग लागेका तत्कालीन सुब्बा रघुनाथ घिमिरेकी छोरी रेशा घिमिरेको नाममा पनि एक लाख रुपैयाँ बराबरको सेयर देखिन्छ । सुब्बा घिमिरेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसअघि दुई करोड १४ लाख रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । त्यतिबेला अर्थमन्त्री जनार्दन शर्मा थिए ।

तर,गुरुङले भट्ट र अग्रवाल समूहसँग सम्बन्धित उक्त लघु बीमामा रहेको सेयर रकम आफ्नो सम्पत्ति विवरणमा देखाएनन् । कम्पनी रजिस्ट्रार कार्यालय स्रोतका अनुसार यो कम्पनीमा अधिकांश लगानीकर्ता भट्टकै तर्फबाट विभिन्न कम्पनीमा प्रतिनिधित्व गर्नेहरू छन् । भट्ट मुछिएको विवादास्पद कम्पनी हिमालयन लाइफ इन्स्योरेन्सका तत्कालीन प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णकी छोरी अदिति कर्णको नाममा पनि दुई लाख रुपैयाँ बराबरको सेयर छ ।

सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेर छुटेका शंकरलाल अग्रवालकी बहिनी रेनु अग्रवालकी कान्छी बुहारी श्रेया रुङ्गटाको नाममा रहेको लोबुचे इन्भेस्टमेन्टको १५ प्रतिशत सेयर स्टार माइक्रो इन्स्योरेन्समा छ ।

स्टारका प्रमुख दुई लगानीकर्तामध्ये घान्द्रुक इन्भेस्टमेन्टको १५ प्रतिशत सेयर स्वामित्व देखिन्छ । २०७९ भदौ ३० मा दर्ता भएको लोबुचे इन्भेस्टमेन्ट श्रेया रुङ्गटाको नाममा छ । उनका पति आयुष गुप्ता जगदम्बा समूहका कार्यकारी निर्देशक रहेको शंकर समूहको आधिकारिक वेबसाइटबाट खुल्छ । घान्द्रुक इन्भेस्टमेन्ट रेनुकै नाममा छ ।

स्टार लघु बीमाको अर्को लगानीकर्ता जगदम्बा इन्टरप्राइजेजमा रेनुसहित रमेश अग्रवाल र अनिल रुङ्गटाको सेयर स्वामित्व छ । वेबसाइटमै हेर्दा पनि जगदम्बा स्टिल उत्पादक कम्पनी जगदम्बा इन्टरप्राइजेजको स्वामित्व शंकर समूहको प्रमाणित हुन्छ ।

त्यस्तै,एउटा नाम चलेको अनलाइनको स्वामित्वमा रहेकाहरुको रेमी क्यापफिन प्रालिको पनि उक्त कम्पनीमा ३२ लाख ५० हजारको तीन लाख २५ हजार कित्ता सेयर रहेको लगतको ५६ नम्बरमा प्रष्टसँग लेखिएको छ । रेमी क्याफफिन अनलाइन खबर नेपालको स्वामित्वमा रहेको छ । यो कम्पनीमा सेयर रहेको लगतमा देखिन्छ ।  २०७९ भदौ २३ मा दर्ता भएको उक्त कम्पनीले उक्त अनलाइन सञ्चालन गर्दै आएको छ । यसले मिडियामा समेत दीपक भट्टले प्रभाव राखेको अर्थ लगाउन सकिन्छ ।

काठमाडौंबाट प्रकाशित हुने एउटा अंग्रेजी म्यागेजिन (न्यु बिजनेश ऐज ) मा शंकर समूहकै पारिवारिक सदस्य तथा जगदम्बा समूहकी निर्देशक सुभी अग्रवालको प्रोफाइल केही समय अगाडि निकै महत्वका साथ छापिएको थियो । मिडियाका प्रकाशक मदनप्रसाद लम्सालको नाममा उक्त कम्पनीको ५० हजार कित्ता सेयर प्रदान गरिएको लगतको ५१ नम्बरमा देखिनुले अनेक आशंका उब्जाएको छ ।

दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीद्वारा फरार सूचीमा राखेर अभियोगपत्र दर्ता गरिएका यती समूहका अध्यक्ष लाक्पा सोनाम शेर्पा पनि सोही कम्पनीका सेयरधनी हुन् ।

त्यस्तै, २५ करोड रुपैयाँभन्दा बढी राजस्व छलीमा मुछिएर अनुसन्धानमा रहेको भगवती ल्यामिनेट्स प्रा.लि.का सञ्चालक रजनीश करनानीको उक्त कम्पनीमा १० लाख रुपैयाँ बराबरको सेयर देखिन्छ । नेपाल प्रहरीका पूर्व एआईजी हरिबहादुर पालको नाममा पनि एक लाख रुपैयाँको सेयर उल्लेख छ । बिचौलिया भट्टकै नातेदार रामचन्द्र भट्टको पनि सो कम्पनीमा पाँच लाख रुपैयाँ बराबरको सेयर छ । उनीहरुलाई समेत मन्त्री गुरुङसँगको व्यावसायिक साझेदारीसँग जोडिएको छ ।

यही समूहको मुख्य लगानी रहेको अर्को संस्था लिबर्टीमा समेत सुधनको नाममा २५ हजार कित्ता शेयर लगानी रहेको खुलेको छ। यसबारे समेत उनले आफ्नो सम्पत्ती विवरणमा खुलाएका छैनन्।

शंकास्पद घरानासँगको दोस्ती

शंकर समूह र दीपक भट्ट पछिल्लो समय नीति निर्माण तहदेखि राजनीतिक तहसम्म प्रभाव विस्तार गरेर बीमा क्षेत्रमा आफ्नो पकड बनाउँदै लगेको समूह हो । नियामक र निर्णायक ठाउँमा आफ्नो व्यक्तिको नियुक्त गराएर आफू अनुकुल निर्णय गराउन यो समूह सक्रिय थियो ।

यसले २०७९ मा जीवन बीमा र पूनर्बीमा क्षेत्रमा आफ्नो पडक बढाउँदै लगेका थिए । यो बीचमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले लाइसेन्स पाए पनि यी सबैमा यही समूहको ब्यक्तीहरुको लगानी देखिएको थियो। योमध्ये लिबर्टीमा अन्यसँगै सुधनको पनि लगानी रहेको खुल्यो ।

निर्जीवन बीमामा अनुमति पाएको नेपाल माइक्रो इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स तथा ट्रस्ट माइक्रो इन्स्योरेन्सले अनुमती पायो। भिन्नभिन्न कम्पनी भए पनि लगानीकर्ताहरु भने शंकर र भट्टकै समूहका थिए । यीमध्ये स्टारमा पनि सुधनको लगानी देखियो ।

सुधनको लगानी शंकर समूह र भट्टको इन्फिनिटी होल्डिङ्सको लगानी रहेका दुई कम्पनीमा देखिनुले उनी पनि यो समूहमा सक्रिय रहेको देखिन्छ । जेनजी अभियानको अभियन्ताको रूपमा सक्रिय रहँदै उनी र विवादित समूह शंकर ग्रुप र दीपक भट्टबिच सम्बन्ध खुलेको थियो। हामी नेपालले दीपक भट्ट, साहिल अग्रवाल र सुलभ अग्रवाललाई सम्मान गरेको विवरण सार्वजनिक भएको थियो। उनले हामी नेपालको सामाजिक अभियानमा सहयोग गरेबापत सम्मान गरेको दाबी गरेका थिए।

तर उनी सो समूहको लगानी रहेको कम्पनीकै साझेदार रहेको खुल्यो। भट्ट र शंकर समूहको लगानी रहेको स्टार माइक्रो इन्स्योरेन्स प्रालिमा सुधनको समेत लगानी रहेको खुल्यो। नेपाल बीमा प्राधिकरणमा आफू अनुकूल नेतृत्व लगेका उनीहरूले हिमालयन रीइन्स्योरेन्स लगायत स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले समेत अनुमति पाएको थियो ।

भ्रष्टाचारको अन्त्य,सुशासन स्थापना तथा सामाजिक सञ्जालमाथि प्रतिबन्ध हटाउनुपर्ने माग राख्दै गत भदौ २३ गते जेन जी पुस्ता शान्तिपूर्ण रूपमा माइतीघरमा उत्रिएको थियो । सोही आन्दोलनमा सहभागी भएका सुधन गुरुङ भदौ २४ गतेको विध्वंशपछि जेन–जीका तर्फबाट नेपाली सेनासँग वार्ताका लागि अग्रसर भएका थिए ।

उनकै पहलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको थियो । त्यसपछि थप चर्चामा आएका गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई मिलाउनमा सक्रिय भए ।

उनकै जोडबलमा पूर्व ऊर्जामन्त्री कुलमान घिसिङलाई समेत वार्ता र सहमतिमा ल्याउन प्रयास गरियो । तर, घिसिङ रास्वपामा गए पनि पछि आफ्नै पार्टी उज्यालो नेपालमा फर्किए । गुरुङ,लामिछाने र शाहबीचको एकतापश्चात रास्वपा फागुन २१ गतेको चुनावमा होमिएको थियो । गुरुङ गोरखा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

बालेन नेतृत्वको वर्तमान सरकारमा उनी गृहमन्त्री छन् । गृहमन्त्री नियुक्त भएलगत्तै ‘स्टन्ट’ शैलीमा उत्रिएका उनले भोलिपल्ट बिहानै जेन–जी आन्दोलनमा दमन गरेको भन्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न लगाए ।

यता,आर्थिक सुशासनको मागसहित बिचौलिया–नियन्त्रित अर्थतन्त्रको विरोधमा उत्रिएको जेन–जी पुस्ताको प्रतिनिधित्व गर्दै गृहमन्त्री बनेका गुरुङ स्वयमको लगानी बिचौलियाहरुको कम्पनीमा देखिएको छ ।

उनको नेतृत्वको ‘हामी नेपाल’ नामक संस्थामा पनि सबैभन्दा ठूलो दाताको रूपमा शंकर समूह रहेको विवरण यसअघि नै बाहिर आइसकेको छ । सोही समूह र भट्ट समूह जोडिएको कम्पनीमा गुरुङको लगानी देखिएपछि बालेन नेतृत्वको सरकारमाथि नैतिक प्रश्न खडा हुनु अस्वाभाविक होइन ।

अर्कोतर्फ उनै गृहमन्त्री गुरुङले प्रचलित भूमिसम्बन्धी ऐन विपरित देखाएको हदबन्दीभन्दा माथिको जग्गा र सम्पत्ति विवरणबारे प्रश्न उठेपछि सामाजिक सञ्जालमा लेखेर जवाफ दिए । गतसाता उनले लेखेका थिए ‘गरिब भएर जन्मिनु गल्ती होइन,गरिब भएर मर्नु गल्ती हो ।’

गृहमन्त्रीले बुझाएको सम्पत्ति विवरणमा भने होप होल्डिङ्स र अनुज प्रिमियम अपार्टमेन्ट्समा मात्र संस्थापक सेयर रहेको उल्लेख गरिएको छ। साथै, धितोपत्र बजारमा कारोबार हुने सेयरको रूपमा करिब २ करोड ७४ लाख रुपैयाँ बराबरको सम्पत्ति रहेको विवरण पनि उनले प्रस्तुत गरेका छन् । तर इन्स्योरेन्सको सेयर धितोपत्र बजारमा कारोबार हुने प्रकृतिको नभएकाले उक्त विवरण पारदर्शितासम्बन्धी प्रश्नमा परेको छ ।

सुजन आचार्य संस्थापक अध्यक्ष रहेको यो कम्पनीमा चार जना सञ्चालक छन् । हाल अध्यक्ष रहेकी प्रजुनी बज्राचार्य भट्टकै स्वामित्व रहेको इन्फिनिटी होल्डिङकी कर्मचारी हुन् । उनीसमेत सञ्चालक रहेको कम्पनीमा ५७ जना संस्थापक सेयरधनी छन् । दीपक भट्टसँग विवादास्पद कारोबारमा मुछिएको शंकर समूहको स्वामित्व रहेको जगदम्बा इन्टरप्राइजेजको उक्त कम्पनीमा २५ लाख रुपैयाँ बराबरको सेयर देखिन्छ । त्यति बराबरको रकम अर्थात् २५ लाख रुपैयाँको सेयर हालका गृहमन्त्री सुधन गुरुङको समेत रहेको तथ्य भेटिएको छ,जुन कुरा अघिल्लो हप्ताको सम्पत्ति विवरणमा लुकाइएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै