काठमाडौँ । प्रधानमन्त्रीले आज मुलुकका ११ विश्वविद्यालय र सात वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग सामूहिक छलफल गर्दै छन् । । बैठक आज दिउँसो १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने तय भएको छ ।
छलफलका मुख्य एजेन्डा
प्रधानमन्त्री कुलपति रहने यी संस्थाहरूको समसामयिक अवस्था, भोग्नुपरेका समस्या र समाधानका उपायबारे बैठक केन्द्रित रहनेछ । विशेषगरी विश्वविद्यालयहरूको शैक्षिक क्यालेण्डर, प्रशासनिक सुधार र तत्काल समाधान गर्न सकिने समस्याहरूबारे प्रधानमन्त्रीले उपकुलपतिहरूसँग प्रत्यक्ष संवाद गर्नेछन् ।
सहभागी संस्थाहरू
बैठकमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, नेपाल संस्कृत, पूर्वाञ्चल, पोखरा, लुम्बिनी बौद्ध, सुदूरपश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल, कृषि तथा वनविज्ञान, राजर्षि जनक र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपतिहरू सहभागी हुनेछन् ।
यस्तै, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) सहित चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन, विपी कोइराला, कर्णाली, पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूलाई पनि छलफलमा बोलाइएको छ ।