काठमाडौँ । नेपाल बीमा प्राधिकरणले हिमालयन रि-इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेलसहित पाँच जना उच्च व्यवस्थापकहरूलाई निलम्बन गरेको छ। कम्पनी सञ्चालनमा गम्भीर कैफियत र आर्थिक अनियमितता देखिएको भन्दै प्राधिकरणले उनीहरूलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो ।
निलम्बनमा पर्नेहरू:
प्राधिकरणले सीईओ पौडेलका साथै देहायका पदाधिकारीहरूलाई निलम्बन गरेको छ:
मुख कार्यकारी अधिकृत (सीईओ): उपासना पौडेल
मुकेश कुमार कपुर: डेपुटी सीईओ
मनिश कुमार: कार्यकारी निर्देशक
शिशिर गैह्रे: कार्यकारी निर्देशक
सन्तोष केसी: कार्यकारी निर्देशक
के हो मुख्य विवाद ?
प्राधिकरण स्रोतका अनुसार हिमालयन रि-इन्स्योरेन्सको २ अर्ब ७३ करोड रुपैयाँ सञ्चालक दीपक भट्टको नाममा दोस्रो बजारमा शेयर खरिद गर्न प्रयोग भएको अनुसन्धानमा खुलेको छ । कम्पनीको ठूलो मौज्दात रकम अवैध तरिकाले सञ्चालकको व्यक्तिगत प्रयोजनमा प्रयोग हुनुलाई प्राधिकरणले गम्भीर वित्तीय अपराधको रूपमा लिएको छ ।
सम्पत्ति शुद्धीकरण र छापा
कम्पनीका ठूला सञ्चालकहरू दीपक भट्ट, शाहिल अग्रवाल, सुलभ अग्रवाल र शेखर गोल्छा यतिबेला सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धान घेरामा छन् । केही दिनअघि मात्रै विभाग र बीमा प्राधिकरणले कम्पनीमा छापा मारेका थिए। अनुसन्धान सुरु भएलगत्तै निवर्तमान अध्यक्ष शेखर गोल्छाले पदबाट राजीनामा दिइसकेका छन् ।
कानुनी प्रावधान र सरकारी पहल
बीमा ऐन बमोजिम कम्पनीका मुख्य लगानीकर्ताहरू सम्पत्ति शुद्धीकरणमा मुछिएमा कम्पनीलाई ‘समस्याग्रस्त’ घोषणा गर्नुपर्ने प्रावधान छ । यसै सन्दर्भमा प्राधिकरणकी अध्यक्ष एवं नेपाल सरकारकी सचिव चन्द्रकला पौडेलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग आवश्यक परामर्श र छलफल गरिसक्नुभएको छ ।