बर्दिवास (महोत्तरी) । नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयको आयोजनामा बर्दिवासमा ‘सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण’ सम्बन्धी दुई दिने अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
चैत २० र २१ गते आयोजित कार्यक्रममा वित्तीय प्रणालीलाई सुरक्षित र पारदर्शी बनाउन बीमा क्षेत्रको भूमिकाबारे विस्तृत छलफल भएको थियो ।
वित्तीय अपराध नियन्त्रणमा बीमा क्षेत्रको दायित्व
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक एवम् नियमन महाशाखा प्रमुख शाम्भराज लामिछानेले वित्तीय प्रणालीको विश्वसनीयताका लागि सम्पत्ति शुद्धीकरण निवारणको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको बताए । उनले भने, “बीमकहरूले ग्राहक पहिचान (KYC), जोखिम मूल्याङ्कन र शंकास्पद कारोबारको समयमै पहिचान गरी प्रतिवेदन बुझाउन सके वित्तीय अपराध नियन्त्रणमा ठूलो योगदान पुग्छ ।”
त्यसैगरी, प्राधिकरणका उपनिर्देशक एवम् सम्पत्ति शुद्धीकरण निवारण शाखा प्रमुख पदम प्रसाद सोडारीले बीमा क्षेत्रमार्फत हुनसक्ने सम्भावित वित्तीय जोखिम रोक्न कर्मचारीहरू थप जिम्मेवार हुनुपर्नेमा जोड दिए ।
अनुभव आदानप्रदान र कानुनी अनुपालन
नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयकी प्रमुख आर्या रावलले स्वागत मन्तव्य राख्दै यस कार्यक्रमले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कानुनी अनुपालनमा एकरूपता ल्याउने विश्वास व्यक्त गरे ।
कार्यक्रमका मुख्य विषयवस्तुहरू:-
-सम्पत्ति शुद्धीकरण सम्बन्धी विद्यमान कानुन, नियम र प्राधिकरणका निर्देशनहरू।
-जोखिम पहिचान र ग्राहकको उचित पहिचान (CDD) प्रक्रिया।
-शंकास्पद कारोबारको पहिचान र प्रतिवेदन (STR/TTR) पेश गर्ने तरिका।
-आन्तरिक नियन्त्रण प्रणालीको सुदृढीकरण र संस्थागत उत्तरदायित्व।
कार्यक्रममा मधेश प्रदेशस्थित विभिन्न बीमा कम्पनीका शाखा प्रमुख तथा अन्डरराइटिङ कर्मचारीहरूको सहभागिता रहेको थियो । नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका प्राधिकरणका सहायक निर्देशकद्वय सुस्मा थापा र महेश मण्डलले कार्यक्रम सञ्चालन गरेका थिए ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका सहायक प्रथम निकेश लाल कर्ण, बीमा कम्पनीका शाखा प्रमुख तथा अन्डरराइटिङ कर्मचारीहरू लगायतको सहभागिता रहेको थियो ।