आवश्यकताका आधारमा रोकिएका आयोजनाको बजेट फुकुवा हुँदैछ: अर्थमन्त्री खनाल

काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले सरकारले स्थगन गरेका आयोजनाहरूको आवश्यकता र प्राथमिकता हेरी बजेट फुकुवा गर्ने प्रक्रिया सुरु भएको बताएका छन् ।

बुधवार राष्ट्रिय सभाको बैठकमा सांसद भुवनबहादुर सुनारको प्रश्नको जवाफ दिँदै मन्त्री खनालले कतिपय आयोजनाको बजेट फुकुवा भएर कार्यान्वयनको चरणमा गइसकेको जानकारी दिए ।

वर्तमान सरकार गठन हुँदाको समयमा आन्दोलनबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, मर्मत र निर्वाचनका लागि ठूलो आर्थिक स्रोत आवश्यक परेकाले अनुत्पादक आयोजना स्थगन गर्नुपरेको उनले स्पष्ट पारे। “तयारी नभएका, खरिद प्रक्रियामा नगएका र तत्काल लाभ नदिने साना तथा टुक्रे आयोजनालाई मात्र स्थगन गरिएको हो,” उनले भने ।

अर्थमन्त्रीका अनुसार मन्त्रिपरिषद्को २०८२ असोज ५ गतेको निर्णय बमोजिम अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्न आयोजनाहरूको पुनः प्राथमिकीकरण गरिएको हो।

बजेट फुकुवा हुने मापदण्डबारे स्पष्ट पार्दै उनले भने:- “डिजाइन र इस्टमेट पूरा भइसकेका, टेन्डर प्रक्रियामा गएका, क्रमागत आयोजना वा उपभोक्ता समितिसँग सम्झौता भइसकेका आयोजनालाई सम्बन्धित मन्त्रालयमार्फत क्रमशः फुकुवा गर्ने व्यवस्था गरिएको छ। सोही अनुसार धेरै आयोजना सञ्चालनमा आइसकेका छन् ।”

उनले चालु र महत्त्वपूर्ण आयोजनामा पर्याप्त बजेट नहुँदा सिर्जना भएको दायित्व भुक्तानी गर्न र आर्थिक पुनरोत्थानका लागि यो कदम चालिएको बताए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै