आगामी स्थानीय तह निर्वाचनमा ‘धोवीपाठ’ पछार्ने गरी तयारी गर्न ओलीको निर्देशन



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय तह निर्वाचनमा विपक्षीलाई पराजित मात्र नभई ‘धोवीपाठ’ पछार्ने गरी तयारीमा जुट्न पार्टीका जनप्रतिनिधि तथा नेता–कार्यकर्तालाई निर्देशन दिएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित नेकपा (एमाले) को राष्ट्रिय जनप्रतिनिधि भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनमा पार्टीको जित सुनिश्चित हुने गरी जनप्रतिनिधिले प्रभावकारी रूपमा काम गर्नुपर्ने बताए ।

उनले विगतमा विभिन्न कारणले जनतासँग टुटेको सम्बन्ध पुनः स्थापित गर्नुपर्नेमा जोड दिए। जनतासँगको सम्बन्ध बलियो बनाउँदै स्थानीय तहमा प्रभावकारी काम गर्न सके निर्वाचनमा एमालेको पक्षमा बलियो जनमत निर्माण हुने उनको भनाइ थियो ।

ओलीले आगामी निर्वाचन संविधानमा व्यवस्था भएअनुसार नै हुनुपर्ने बताए । उनका अनुसार स्थानीय तहको निर्वाचन आगामी वैशाखको अन्तिमतिर र प्रदेश तहको निर्वाचन मंसिरमा हुनुपर्नेछ। सोही कार्यतालिकालाई ध्यानमा राखेर निर्वाचनको तयारीमा जुट्न उनले नेता–कार्यकर्तालाई निर्देशन दिए ।

उनले भने, ‘यसपटकको निर्वाचनमा हामीले पछार्ने मात्रै होइन, धोवीपाठ पछार्नुपर्छ। त्यो तयारीका साथ, त्यो आत्मविश्वासका साथ गाउँमा जाऔँ । जनतासँग टुटेको सम्बन्धलाई फेरि जोडौँ, सम्बन्ध विकास गरौँ ।’

अध्यक्ष ओलीले निर्वाचनलाई निष्पक्ष, पारदर्शी र धाँधलीरहित रूपमा सम्पन्न गर्न जनतालाई समेत साथमा लिएर अघि बढ्नुपर्ने बताए। उनले निर्वाचनको तयारीसँगै जनताको विश्वास जित्ने गरी स्थानीय तहमा काम गर्न जनप्रतिनिधिहरूलाई आग्रह गरे ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै