काठमाडौँ । आज मिति वि. सं. २०८३ वैशाख ११ गते शुक्रबार । ई. सं. २०२६ अप्रल २४ नेपाल सम्बत ११४६ वछलाथ्व अष्टमी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायण, वसन्त ऋतु, वैशाख कृष्ण पक्ष अष्टमी । चन्द्रमा कर्कट राशिमा, तिष्य नक्षत्र, शूल योग, विष्टी करण एवं लोकतन्त्र दिवस तथा आजदेखि विश्व खोप सप्ताह शुरु हुँदै । आज बिहान ५ बजेर ३२ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ६ बजेर ३४ मिनेटमा अस्ताउनेछ ।
आजको राशिफल
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):–
अरूको भर पर्दा धोकामा परिने समय छ, सचेत रहनुहोला । बाध्यतापूर्ण काममै समय बित्न सक्छ । तथापि, प्रयास गर्दा रोकिएका महत्वपूर्ण काम बन्नेछन् । केही मात्रामा खर्च बढ्ने देखिन्छ । आलस्यपन जाग्न सक्छ । काममा मातापिताको सहयोग प्राप्त होला । कृषि-चौपायाबाट लाभ मिल्नेछ । रोकिएको काम मिहेनतले बन्नेछ । सामर्थ्य वृद्धि होला । मिठो भोजन प्राप्त हुनेछ । यात्रागत कार्य सफल रहनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):–
भाग्योन्नतिको समय छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । मातापिता तथा आफन्तको सहयोगले विशेष काम बन्ने देखिन्छ । विशेष लाभ उठाउन सकिएला । दाम्पत्यजीवन सुखद तथा समृद्ध बन्ने योग छ । आम्दानी बढ्नेछ । मिठो भोजन प्राप्त होला । खेलकुद, भ्रमणजस्ता कर्ममा आकर्षण बढ्नेछ । गीतसंगीत एवम् रसरागात्मक काममा आकर्षण रहला ।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):–
चुनौती बढ्ने र काममा प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । इर्ष्यालुजनको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला । अलिक द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउने समय छ । तथापि, व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । निकट सहयोगीले तपाईंको कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन्, सचेत रहनुहोस् । रसरागमा आकर्षण रहनेछ । आजको दिन अनावश्यक यात्रा नगर्नु उचित होला ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):–
सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय भएपनि धर्मकर्ममा आकर्षण बढ्नेछ । श्रमको पनि उचित मूल्यांकन होला । पढाइलेखाइमा प्रगति हुनेछ । सामाजिक कामको दायित्व बढ्नेछ भने अरूका जिम्मेवारीसमेत बहन गर्नुपर्ला । प्रतिष्ठित काम र पदको आशा देखाउनेहरूबाट सजग रहनु उचित हुनेछ । विवेकको सही प्रयोगले शत्रुमाथि विजय प्राप्त होला ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):–
व्यस्तता बढ्ने र परिश्रम पनि अलिक बढी नै गर्नुपर्ने समय छ । श्रमअनुसार उपलब्धि नमिल्न सक्छ । तापनि नियमित काममा आंशिक सफलता मिल्नेछ । कतैबाट अप्रिय समाचार प्राप्त भइ खिन्नता बढ्नसक्ने योग छ, तर आत्मविश्वासमा कमी आउनेछैन । पढाइलेखाइमा अलिक ध्यान दिनु हितकर होला । प्रतिष्ठित काम सम्पादन गर्ने मौका मिलेपनि व्यापार–व्यवसायमा त्यत्ति फाइदा नहोला ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):–
नियमित काममा केही चुनौती देखिए पनि नसोचेको फाइदा उठाउन सकिने समय छ । धेरैले सहयोगको तत्परता देखाउनाले समयको सदुपयोग हुनेछ भने विभिन्न अवसर पाइने देखिन्छ । आवश्यक सजगता अपनाउन चुक्दा अवसर फुत्कने सम्भावना देखिन्छ, ध्यान राख्नुहोला । आतिथ्यपूर्ण सम्मान पाइने र प्रेमको बन्धन कसिने योग छ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । खर्च भने केही बढ्न सक्छ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):–
आजको दिन व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । परिश्रमका बाबजुद समयमा काम पूरा नहुनाले खिन्नता बढ्ला । तथापि, सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने देखिन्छ । उद्योग तथा व्यापारमा सामान्यमात्र फाइदा मिल्नेछ । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिन सक्छ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । यात्रागत कार्य पनि सफल रहला । नियमकानूनले साथ दिनाले दायित्व पूरा गर्नुहुनेछ ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):–
धैर्यले काम लिने समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ भने सन्तान तथा अनुयायीले प्रसन्नता दिलाउनेछन् । परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ । तर कुनै मान्यजनसँग असमझदारी बढ्नसक्ने योग छ । मिठो भोजन प्राप्त हुनेछ । सार्थक यात्राको योग छ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):–
समय मनोरञ्जनपूर्ण र उत्साहवर्द्धक रहला । वैदेशिक क्षेत्रबाट लाभको मौका जुर्ने देखिन्छ । स्थानान्तरण तथा लामो यात्राको सम्भावना छ । पितृधन समेत लाभ हुने सम्भावना छ । व्यापार–व्यवसायबाट विशेष लाभ लिने प्रयत्न गर्दा मिहेनत खेर जाँदैन । प्रगतिको दर बढ्नाले आनन्द वृद्धि हुनेछ । सुख बढ्नेछ र बौद्धिक तथा रचनात्मक काममा सफलता मिल्नेछ । परिवारिक सुख बढ्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):–
स्वास्थ्य केही कमजोर रहनाले नियमित कार्यमा असर पर्नसक्ने समय भएपनि आम्दानीमा कमी नहोला । जिम्मेवारी बढिरहनेछन् तर सहयोगको आशा देखाउनेहरूको भर पर्दा धोका हुनसक्छ, सजग रहनुहोला । लेनदेनमा विवाद आउने योग छ । साहसिक काममा आकर्षण बढ्नेछ । विपरीतलिंगीको सहयोगले विशेष कार्य बन्ने योग छ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):–
प्रयत्न गर्दा महत्वाकांक्षी योजना फलीभूत हुनसक्ने दिन छ । नियमित कार्यमा जाँगर बढ्नेछ भने आम्दानी बढ्ने एवम् उठ्नुपर्ने रकम हातलागी हुने योग छ । व्यापारबाट राम्रै फाइदा होला । भूमि तथा मातृधनबाट विशेष लाभ मिल्नेछ । विगतका कमजोरीलाई सुधार गर्न मौका जुर्ला । प्रेमभावका साथै दाम्पत्यसुख बढ्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):–
धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा मिल्ने समय छ । सामाजिक उत्तरदायित्व वहन गरिएला । रोकिएका काम सम्पादन हुने तथा नयाँ जिम्मेवारी हात पार्ने मौका छ । धैर्यले काम लिने प्रयास गरे लाभको दायरा बढ्नेछ । वौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रेमभाव वृद्धिका साथै सुख बढ्नेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्…..