काठमाडौँ । भारतको प्रतिष्ठित इलेक्ट्रिक स्कुटर ब्रान्ड एम्पीयर (Ampere) नेपाली बजारमा भित्रिएको छ । १६५ वर्षको इन्जिनियरिङ अनुभव बोकेको ग्रीभ्स इलेक्ट्रिक मोबिलिटीद्वारा उत्पादित यस ब्रान्डलाई एसटीसी अटो सोलुसन प्रालि (एसटीसी ग्रुप अन्तर्गत) ले आधिकारिक वितरकका रूपमा नेपाल ल्याएको हो ।
एसटीसी अटो सोलुसनले एम्पीयरका दुई अत्याधुनिक मोडल- नेक्सस (Nexus) र म्याग्नस नियो (Magnus Neo) को बिक्री सुरु गरेको छ । ग्रीभ्स इलेक्ट्रिक मोबिलिटीले विगत १७ वर्षदेखि भारतमा विद्युतीय दुई पाङ्ग्रे सवारी साधन उत्पादन गर्दै आएको छ र यो भारतका ‘टप ६’ ब्रान्डभित्र पर्दछ ।
एम्पीयर स्कुटरका मुख्य विशेषताहरू:
शक्तिशाली ब्याट्री: यी स्कुटरहरूमा उच्च क्षमताको लिथियम फेरो फोस्फेट (LFP) ब्याट्री प्रयोग गरिएको छ। यस ब्याट्रीको लाइफ साइकल २ हजार पटकसम्म रहने कम्पनीले जनाएको छ ।
वारेन्टी सुविधा: कम्पनीले ब्याट्रीमा ७५ हजार किलोमिटर वा ५ वर्षसम्मको आकर्षक वारेन्टी प्रदान गरेको छ ।
कठिन मौसममा सफल परीक्षण: यी स्कुटरहरूलाई माइनस ४० डिग्री सेल्सियसको अत्यधिक चिसोदेखि ६० डिग्री सेल्सियसको चर्को गर्मीमा समेत सफलतापूर्वक परीक्षण गरिएको छ, जसले गर्दा नेपालको सबै भौगोलिक क्षेत्रका लागि यो उपयुक्त देखिन्छ।
प्रविधि र बनावट: मजबुत च्यासीस, ट्वीन सस्पेन्सन र स्मार्ट टेक्नोलोजी जस्ता विशेषताले यसलाई विश्वस्तरीय र सुरक्षित बनाएको छ।
एसटीसी अटो सोलुसनले नेपाली ग्राहकका लागि उच्च कार्यक्षमता (High Performance) भएका यी स्कुटरहरूले विद्युतीय सवारीको क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरेको छ।
एम्पीयर मेग्नस निओ
एम्पीयर मेग्नस निओमा २.५ किलोवाट क्षमाताको मोटर उपलब्ध छ । यो स्कुटरमा २.३ किलोवाट आवरको लिथियम ब्याट्री प्याक उपलब्ध रहेका छ भने यसलाई एक पटक फुलचार्ज गरेर १०० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दावी छ ।
यो स्कुटरमा आरामदायी सिटका साथै १५० किलो लोडिङ क्षमता र १६५ एमएमको ग्राउन्ड क्लियरेन्स छ । यसमा लो, हाई र रिर्भस राइडिङ मोड उपलब्ध छ । यसको मूल्य रु. ३ लाख रुपैयाँ कायम गरिएको छ ।
एम्पीयर नेक्सस
नेक्ससमा ३.९ किलोवाट क्षमताको मोटर उपलब्ध छ । यसमा ३ किलोवाट आवरको एलएफपी ब्याट्री उपलब्ध छ । यसलाई एक पटक फुलचार्ज गरेर १०७ किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दावी छ । यो ब्याट्री प्याकलाई घरमै ३ घन्टा ३० मिनेटमा चार्ज गर्न सकिन्छ ।
मिड माउन्ट मोटर भएको यो स्कुटरमा रिभर्स सहित पाँच राइड मोड उपलब्ध छन् । यसमा अलोय ह्वील, डिस्क ब्रेक, अल एलइडी लाइट, यूएसबी चार्जर, केनेक्टिभिटी जस्ता फिचर्स पाउन सकिन्छ । यसको मूल्य रु. ३ लाख ३५ हजार रुपैयाँ तोकेर बिक्री सुरु गरेका छौँ ।