

काठमाडौं । दुई वर्षअघि काठमाडौंको बाँसबारीस्थित मिल्सबेरी स्कुलमा मासिक करिब ४० हजार रुपैयाँ तलबमा शिक्षकका रूपमा कार्यरत इनम सापकोटाको बैंक खातामा एक वर्षमै करोडौँ रुपैयाँको कारोबार भएको विवरण सार्वजनिक भएपछि उनी प्रहरी अनुसन्धानको केन्द्रमा परेका छन् ।
बैंकिङ विवरणअनुसार सापकोटाको एउटा खातामा एक वर्षको अवधिमा ६ करोड ३१ लाख रुपैयाँ जम्मा भएको देखिएको छ । त्यसमध्ये सबैभन्दा ठूलो रकम कांग्रेस नेता उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठबाट आएको विवरणमा उल्लेख छ ।
महेश श्रेष्ठले सात पटक गरी १ करोड ४२ लाख ५० हजार रुपैयाँ सापकोटाको खातामा जम्मा गरेको देखिएको छ । त्यस्तै, ठगीसम्बन्धी मुद्दा खेपिरहेका नवीन तुलाधरले समेत सापकोटाको खातामा २० लाख रुपैयाँ पठाएको विवरणमा उल्लेख छ।
रकम जम्मा भएर तत्कालै अन्य खातामा स्थानान्तरण
अनुसन्धानमा सापकोटाको खातामा आएको रकम लामो समय नराखी विभिन्न कम्पनी तथा संस्थाका खातामा स्थानान्तरण भएको देखिएको छ । प्रिसाइज हेल्थकेयर टेक्नोलोजी, इन्जिक बिल्डर्स र हिमालयन फ्लोरा इन्टरप्राइजेजका खातामा करोडौँ रुपैयाँ स्थानान्तरण भएको विवरणमा उल्लेख छ । त्यस्तै, श्रीवृद्धि इन्भेस्टमेन्टबाट १ करोड रुपैयाँ प्राप्त भएपछि उक्त रकम क्यापिटल म्यासज सेक्युरिटिजमा स्थानान्तरण भएको देखिएको छ । यसले सापकोटाको बैंक खातामार्फत रकम जम्मा र स्थानान्तरण गर्ने काम किन भइरहेको थियो भन्ने विषयमा समेत अनुसन्धानको प्रश्न उठाएको छ ।
पूर्वप्रधानन्यायाधीश जबराको रकम भएको सापकोटाको दाबी प्रहरीसँगको सोधपुछका क्रममा सापकोटाले विभिन्न बैंकमा रहेको करोडौँ रुपैयाँ पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको भएको दाबी गरेको बताइएको छ । जबराका भाइ प्रभुशमशेरमार्फत रकम परिचालन भएको उनको भनाइ रहेको छ ।
सापकोटाले कांग्रेस नेतादेखि पूर्वमन्त्री दीपक खड्का, व्यापारी दीपक भट्ट तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग समेत आफ्नो सम्पर्क रहेको दाबी गरेको बताइएको छ। यद्यपि, उनका यी दाबीको स्वतन्त्र पुष्टि हुन बाँकी छ ।
शिक्षकको खातामा करोडौँ रकम कसरी आयो ?
सापकोटाको बैंक खातामा छोटो अवधिमै ठूलो रकम जम्मा हुनु र तत्कालै विभिन्न कम्पनी तथा संस्थाका खातामा स्थानान्तरण हुनुले आर्थिक कारोबारको प्रकृति र स्रोतबारे प्रश्न उठाएको छ ।
प्रहरी अनुसन्धानले मुख्यतः रकमको वास्तविक स्रोत, रकम कसको थियो, सापकोटाको खातामार्फत किन परिचालन गरियो र रकम विभिन्न कम्पनीका खातामा किन स्थानान्तरण गरियो भन्ने विषयमा केन्द्रित हुने देखिन्छ ।
सामान्य शिक्षकका रूपमा कार्यरत व्यक्तिको खातामा करोडौँ रुपैयाँको कारोबार देखिएपछि त्यसको वास्तविकता र संलग्न व्यक्तिहरूको भूमिकाबारे अनुसन्धानबाट थप तथ्य खुल्ने अपेक्षा गरिएको छ ।