

काठमाडौँ । गृह मन्त्रालयले वैदेशिक रोजगारी तथा विदेश पठाउने नाममा हुने ठगी र श्रम शोषण नियन्त्रण गर्न विशेष कार्यदल गठन गरेको छ । गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा शुक्रबार मन्त्रालयमा बसेको बैठकले सम्बन्धित निकायका प्रतिनिधि सम्मिलित कार्यदल गठन गरी सोही दिनदेखि काम थाल्ने निर्णय गरेको हो ।
कार्यदलले करारमा उल्लेख भएभन्दा फरक काममा लगाउने, तोकिएको तलब तथा सेवा(सुविधा नदिने र रोजगारीको प्रलोभन देखाएर भिजिट भिसामा विदेश पठाउने गतिविधिको अनुगमन गर्नेछ । कन्सल्टेन्सीमार्फत हुने ठगी र भिजिट भिसाको आवरणमा हुने मानव तस्करीमा संलग्न व्यक्ति वा समूह पहिचान गरी प्रचलित कानुनबमोजिम कारबाहीको दायरामा ल्याउने कार्यादेश पनि दिइएको छ ।
बैठकमा युवा, श्रम तथा रोजगार मन्त्रालय मन्त्री रामजी यादवसहित गृह, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सहभागी थिए । बैठकमा नेपाल प्रहरीका महानिरीक्षक, केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख र नेपाल नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीको पनि सहभागिता थियो ।
विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन नोभेम्बर १३ मा संयुक्त अरब इमिरेट्स पुगेका गृहमन्त्री गुरुङले अबुधाबीस्थित नेपाली राजदूतावास र दुबईस्थित नेपाली महावाणिज्य दूतावासमा स्थानीय नेपाली समुदायसँग छलफल गरेका थिए । छलफलमा वैदेशिक रोजगारीका क्रममा नेपाली नागरिक ठगी र श्रम शोषणमा परेको विषय उठेपछि उनले तत्काल कदम चाल्ने प्रतिबद्धता जनाएका थिए ।
गृह मन्त्रालयले ठगी र श्रम शोषण नियन्त्रणका लागि सम्बन्धित निकायबीचको समन्वय बढाउने जनाएको छ। मन्त्रालयले रोजगारीको प्रलोभनमा नपर्न र विदेश जानुअघि आधिकारिक प्रक्रिया, करारका सर्त तथा गन्तव्य मुलुकको कानुनी व्यवस्थाबारे बुझ्न सर्वसाधारणलाई आग्रह गरेको छ ।