काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले वरिष्ठ उद्योगपति एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छासँग जोडिएको पछिल्लो घटनाक्रमप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नाइमाले एक विज्ञप्ति जारी गर्दै कुनै पनि विषयमा अनुसन्धान गर्दा सम्बन्धित व्यक्तिलाई स्पष्टीकरण दिने पर्याप्त अवसर दिनुपर्ने माग गरेको हो । प्रक्रियागत स्पष्टता र उचित विवेक अपनाउँदा मात्र समग्र प्रणालीप्रतिको विश्वास सुदृढ हुने संस्थाको ठहर छ ।
“निजी क्षेत्रले मुलुकको अर्थतन्त्र, रोजगारी र राजस्वमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ,” विज्ञप्तिमा भनिएको छ, “यस्तो अवस्थामा निजी क्षेत्रको मनोबल उच्च राख्न र उद्यमशीलताको निरन्तरताका लागि राज्यले सोहीअनुसारको व्यवहार र नीतिगत सन्देश दिनु आवश्यक छ।”
नाइमाले आफू विधिको शासन, पारदर्शिता र निष्पक्षताको पक्षमा दृढ रहेको स्पष्ट पार्दै तथ्यका आधारमा हुने निष्पक्ष अनुसन्धानको स्वागत गर्ने जनाएको छ । यद्यपि, पर्याप्त प्रमाणबिना कुनै पनि व्यक्तिमाथि निष्कर्षमा पुग्ने वा कठोर कदम चाल्ने कार्यले लगानीको वातावरण र प्रणालीमा नकारात्मक असर पर्न सक्ने भन्दै सम्बन्धित निकायलाई संवेदनशील बन्न अनुरोध गरेको छ ।