गरिमा सुवर्ण योजनाको इकाई खरिद आवेदन म्याद चैत १२ सम्म थप

काठमाडौँ । गरिमा क्यापिटल लिमिटेडले ‘गरिमा सुवर्ण योजना’को इकाई खरिदका लागि आवेदन दिने म्याद थप गरेको छ । क्यापिटलले फागुन २८ गतेदेखि निष्कासनमा ल्याएको उक्त योजनामा आवेदन दिने अवधि अब चैत १२ गतेसम्म कायम रहने जनाएको हो ।

योजनाको कुल आकार १ अर्ब रुपैयाँ रहेको छ। क्यापिटलले पहिलो चरणमा ५० करोड रुपैयाँ बराबरका ५ करोड इकाई निष्कासन गरेको छ ।

निष्कासित इकाईमध्ये ९० लाख इकाई कोष प्रवर्द्धक गरिमा विकास बैंकलाई र ६० लाख इकाई योजना व्यवस्थापक गरिमा क्यापिटल लिमिटेडलाई सुरक्षित गरिएको छ । बाँकी ३ करोड ५० लाख इकाई सर्वसाधारणका लागि प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा बिक्रीमा ल्याइएको छ ।

यो खुलामुखी योजना भएकाले बाँकी इकाई सामूहिक लगानी कोषसम्बन्धी नियमावलीअनुसार योजना व्यवस्थापकले तोकेको वितरण प्रणालीमार्फत निरन्तर खरिद–बिक्रीका लागि खुला गरिने क्यापिटलले जनाएको छ ।

उक्त योजनामा न्यूनतम १०० इकाईका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

लगानीकर्ताले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सी–आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन् । साथै सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा सञ्चालित मेरो सेयर वेब तथा मोबाइल एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै