काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (चैत मसान्त) सम्मको वित्तीय विवरण अनुसार नेपालका राष्ट्रियस्तरका विकास बैंकहरूको नाफामा सुधार देखिएको छ ।
आज सार्वजनिक भएको चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार, सञ्चालनमा रहेका आठ राष्ट्रियस्तरका विकास बैंकहरुले कुल ५ अर्ब ५० करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा बैंकहरूले कुल ३ अर्ब ६९ करोड २७ लाख १५ हजार ४५९ रुपैयाँ नाफा कमाएका थिए ।
यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४९.०४ प्रतिशतले बढी हो । समीक्षा अवधिमा सर्वाधिक नाफा कमाउनेमा गरिमा विकास बैंक रहेको छ ।
चालु वर्षको चैतसम्म गरिमा विकास बैंकले १ अर्ब ४ करोड ८२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत वर्षको तुलनामा ४२.९१ प्रतिशतले बढी हो । गत वर्ष यहीअवधिसम्म गरिमाले ७३ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
यसैगरी धेरै नाफा कमाउने दोस्रो विकास बैंकमा मुक्तिनाथ रहेको छ । समीक्षा अवधिसम्म मुक्तिनाथले ९४ करोड २६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकले ७२ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफा ३०.०४ प्रतिशतले बढि हो ।
त्यस्तै, शाइन रेसुंगा डेभलपमेन्ट बैंकले ७८ करोड ८४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकले ५१ करोड ४० लाख रुपैयाँ नाफा कमाएको थियो । गत वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफा ५३.३८ प्रतिशतले बढेको हो ।
यसैगरी चालु वर्षको चैतसम्म ज्योति विकास बैंकले ६२ करोड ९४ लाख रुपैयाँ, कामना सेवा विकास बैंकले ५८ करोड ८६ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकले ५६ करोड १६ लाख रुपैयाँ, सांग्रिला डेभलपमेन्ट बैंकले ४८ करोड ४५ लाख रुपैयाँ र महालक्ष्मी विकास बैंकले ४५ करोड ९९ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।