काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा साढे १६ अर्ब रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् । आज प्रकाशन भएको अपरिष्कृत वित्तीय विवरण अनुसार असोज मसान्तसम्ममा १६ अर्ब २३ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् ।
यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.६३ प्रतिशत धेरै हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरुको खुद नाफा १३ अर्ब ३४ करोड ४८ लाख रुपैयाँ रहेको थियो ।
नबिल बैंकले कमायो सर्वाधिक
हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये नबिल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सर्वाधिक मुनाफा आर्जन गरेको छ । बैंकले २ अर्ब ५ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।
यस्तै दोस्रो ठूलो नाफा कमाएको ग्लोबल आइएमई बैंकले १ अर्ब ५१ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । सो अवधिसम्ममा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा १ अर्ब ४६ करोड ४० लाख रुपैयाँ छ । जुन तेस्रो ठूलो नाफा हो ।
त्यस्तै, समीक्षा अवधिमा थप पाँच बैंकहरु प्राइम कमर्सियल बैंक, एनएमबि बैंक, एभरेष्ट बैंक, कुमारी बैंक र प्रभु बैंकले १ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएका छन् । असोज मसान्तसम्म प्राइमले १ अर्ब २८ करोड ६७ लाख रुपैयाँ, एनएमबिले १ अर्ब १४ करोड ५६ लाख रुपैयाँ, एभरेष्टले १ अर्ब १२ करोड ७७ लाख रुपैयाँ, कुमारीले १ अर्ब ७ करोड ८१ लाख रुपैयाँ र प्रभु बैंकले १ अर्ब ४ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको हो ।
यस अवधिमा १२ वाणिज्य बैंकको नाफा एक अर्ब रुपैयाँभन्दा कम रहेकोमा ६ बैंकको ५० करोड रुपैयाँ माथि छ । यस अवधिमा स्ट्याण्डर्ड चार्टर्ड बैंकले ८६ करोड २२ लाख रुपैयाँ, नेपाल एसबिआई बैंकले ८१ करोड ४६ लाख रुपैयाँ, हिमालयन बैंकले ७२ करोड ६४ लाख रुपैयाँ, नेपाल बैंकले ६० करोड २२ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ५३ करोड ६३ लाख रुपैयाँ र माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ५० करोड ३२ लाख रुपैयाँ नाफा कमाएको छ ।
समीक्षा अवधिमा सानिमा बैंकले ३९ करोड ९५ लाख रुपैयाँ मुनाफा आर्जन गर्दा सिद्धार्थ बैंकले पच्छाउँदै ३८ करोड २० लाख रुपैयाँमा पुर्याएको छ । असोज मसान्तसम्ममा सिटजन बैंक इन्टरनेशनलको नाफा २४ करोड ७ लाखमा खुम्चिँदा कृषि विकास बैंकले भने १९ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यस्तै सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक र आक्रमक बैंकिंग अभ्यासबाट कुनै बेला सर्वाधिक नाफा कमाएको एनआईसी एशिया बैंक नाफाको अन्तिममा छन् । राष्ट्रिय वाणिज्य बैंकले चालु आवको तीन महिनामा १५ करोड १३ लाख रुपैयाँ र एनआईसी एशिया बैंकले ११ करोड ५ लाख रुपैयाँ मात्र नाफा आर्जन गरेका हुन् ।
सात वाणिज्य बैंकको नाफा घट्यो, सिद्धार्थ बैंककले बढायो सर्वाधिक
समग्रमा नाफा बढाएको भएपनि चालु आवको तीन महिनामा २० मध्ये ७ ओटा बैंकको नाफा घटेको वित्तीय विवरण सार्वजनिक भएको छ । यस अवधिमा एनआईसी एशिया बैंकको खुद नाफा सर्वाधिक ८९.०६ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको ८२.४० प्रतिशतले नाफा घटेको छ ।
यसैगरी यस अवधिमा हिमालयन बैकको ३१.२२ प्रतिशत, सानिमा बैंकको १७.२७ प्रतिशत, सिटिजन्स बैंकको १२.५५ प्रतिशत, माछापुच्छ्रे बैंकको ७.१९ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सबैभन्दा कम ३.८२ प्रतिशतले घटेको छ ।
सिद्धार्थ बैंकले असोज मसान्तसम्ममा सर्वाधिक नाफा वृद्धि गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकले ७९१.४३ प्रतिशतले नाफा बढाउन सफल भएको हो । यस्तै लक्ष्मी सनराइज बैंकले ४२०.५३ प्रतिशत, नेपाल बैंकले ३२२.९८ प्रतिशत र कुमारी बैंकले ३०८.५० प्रतिशतले नाफा बढाएको छ ।
यसैगरी नेपाल एसबिआई बैंकले गत आर्थिक वर्षको सोही अवधिसम्मको तुलनामा ७०.०१ प्रतिशत, एभरेष्ट बैंकले ४४.४४ प्रतिशत, सर्वाधिक नाफा कमाएको नबिल बैंकले गत आर्थिक वर्षको सोही अवधिसम्मको तुलनामा ३९.९७ प्रतिशतले नाफा बढेको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक भएको हो । यस्तै ग्लोबल आइएमई बैंकले २३.३६ प्रतिशत, एनएमबि बैंकले १८.९४ प्रतिशत, प्राइम कमर्सियल बैंकले ११.७५ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ४.१७ प्रतिशत र प्रभु बैंकले सबैभन्दा कम ०.६२ प्रतिशतले मात्र नाफा बढाएको छ ।
कृषि विकास बैंक गत असोज मसान्तसम्ममा ८८ करोड ८० लाख रुपैयाँ नोक्सानी रहेकोमा त्यसमा सुधार गर्दै हाल १९ करोड ९ लाख रुपैयाँ खुद नाफामा पुगेको छ ।