काठमाडौँ । आगामी माघ १ गतेदेखि ५ लाख रुपैयाँभन्दा बढीको नगद कारोबार गर्न नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि एकीकृत निर्देशन जारी गर्दै नगद कारोबारको सीमा घटाएर ५ लाख कायम गरेको हो ।
नयाँ व्यवस्थाअनुसार ५ लाख रुपैयाँभन्दा बढीको भुक्तानी गर्दा अनिवार्य रूपमा ‘एकाउन्ट पे’ चेक वा सम्बन्धित व्यक्तिको बैंक खातामार्फत मात्र गर्नुपर्नेछ । कुनै फर्म, कम्पनी वा संस्थाको नाममा खिचिएका चेकहरूको भुक्तानी पनि अनिवार्य रूपमा खातामै जम्मा हुनुपर्ने व्यवस्था गरिएको छ । यसअघि यस्तो कारोबारको सीमा १० लाख रुपैयाँसम्म रहेको थियो ।
यी क्षेत्रमा भने नगद कारोबार गर्न पाइनेछ:
नयाँ नियम लागू भए पनि केही विशेष क्षेत्रमा भने नगद भुक्तानी गर्न बाधा नपर्ने केन्द्रीय बैंकले स्पष्ट पारेको छ:
पूर्वाधार आयोजना: जलविद्युत्, सडक र सञ्चार जस्ता आयोजनाका कर्मचारी तथा श्रमिकको पारिश्रमिक र ज्याला भुक्तानी ।
सरकारी भुक्तानी: राजस्व भुक्तानी, बिगो, धरौटी वा जमानत रकम जम्मा गर्न ।
पेन्सन र राहत: पेन्सन क्याम्पमार्फत वितरण गरिने पेन्सन र सरकारले दिने राहत तथा अनुदान सहायता ।
विप्रेषण (Remittance): रेमिट्यान्स कम्पनी वा एजेन्टले सेवाग्राहीलाई गर्ने भुक्तानी ।
सहकारी: बचत तथा ऋण सहकारीले सदस्यहरूसँग गर्ने दैनिक कारोबार।
सरकारले गत मङ्सिर १५ गते नै नगद कारोबारको सीमा ५ लाखमा सीमित गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार अर्थ मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशित गरेपछि राष्ट्र बैंकले बैंकहरूलाई कार्यान्वयनका लागि निर्देशन दिएको हो ।
सम्पत्ति शुद्धीकरण निवारण र पारदर्शी आर्थिक कारोबारका लागि यो कदम चालिएको बताइएको छ ।