काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ चयन भएका छन् । हिमालयन बैंकका अध्यक्ष रहेका श्रेष्ठलाई सिबिफिन कार्यसमिति बैठकले सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो ।
यसअघि अध्यक्ष उपेन्द्र पौडेलको नबिल बैंकमा अध्यक्षको कार्यकाल सकिएपछि उनी स्वतः सिबिफिनको अध्यक्ष पदबाट पनि बाहिरिएका थिए । अध्यक्ष पद रिक्त भएपछि कार्यसमिति बैठकले श्रेष्ठलाई अध्यक्ष चयन गरेको हो । उनी यसअघि सिबिफिनमा महासचिव थिए ।
सिबिफिनको विधानमा अध्यक्ष, महासचिव र कोषाध्यक्ष बैंक सञ्चालक समितिको बहालवाला अध्यक्ष हुनुपर्ने प्रावधान छ । परिसंघका कार्यवाहक अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा यही माघ ६ गतेका दिन सम्पन्न कार्यसमितिको १५औँ बैठकबाट बाँकी कार्यकालका लागि सर्वसम्मत रुपमा मनोनीत भएका श्रेष्ठ नेपालको बैंकिङ एवं वित्तीय क्षेत्रका एक अग्रणी व्यक्तित्वको रुपमा परिचित छन् । नेपाली बैंकिङ क्षेत्रमा दुई दशकभन्दा बढी समयदेखि क्रियाशील रहँदै आएका श्रेष्ठ यसअघि कार्यसमितिको महासचिव पदमा बहाल थिए ।
यस्तै, महासचिव श्रेष्ठ अध्यक्षमा चयन भएपछि रिक्त उक्त पदमा एनएमबि बैंकका अध्यक्ष मनोज गोयल चुनिएका छन् । कार्यसमिति सदस्य रहेका गोयल महासचिव बनेका हुन् । यसैगरी, संस्थाले लक्ष्मी सनराइज बैंकका अध्यक्ष रमण नेपाललाई कोषाध्यक्षमा चयन गरेको छ । यसअघि कोषाध्यक्ष रहेका एनआईसी एसिया बैंकका अध्यक्ष तुलसीराम अग्रवालले राजीनामा दिएपछि उक्त पद पनि रिक्त थियो ।
नवनियुक्त अध्यक्ष श्रेष्ठले अध्यक्षको पदभार ग्रहण गर्दै आफूमाथि विश्वास एवं भरोसा गरी सिबिफिन जस्तो नेपालको बैंकिङ क्षेत्रको अग्रणी संस्थाको नेतृत्वदायी जिम्मेवारी बहन गर्ने अवसर प्रदान गरेकोमा कार्यसमितिप्रति आभार व्यक्त गरे । उनले सिबिफिनका संस्थापक अध्यक्ष तथा हालका प्रेसिडेन्ट इमेरिट्स पवन कुमार गोल्यान र निवर्तमान अध्यक्ष उपेन्द्र पौडेलले निर्माण गरेको सिबिफिनको विरासतलाई अक्षुण्ण राख्दै सिबिफिनलाई बैंकिङ क्षेत्रको दिगो विकासको संवाहकको रुपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
नेपालको अर्थतन्त्रको आधारशिलाको रुपमा रहेको बैंकिङ जस्तो अपरिहार्य एवं संवेदनशील क्षेत्र आज चुनौतीपूर्ण र असुरक्षित बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष श्रेष्ठले करोडौँ जनताको जीवन र राष्ट्रकै भविष्यसमेत जोडिएको बैंकिङ क्षेत्रको साझा हितको प्रवद्र्धन, बैंकिङ क्षेत्रप्रतिको आम जनविश्वास एवं भरोसा अभिवृद्धि, वित्तीय स्थायित्व र दिगो विकासमार्फत सुदृढ अर्थतन्त्र एवं समुन्नत राष्ट्र निर्माणका लागि नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंकलगायतका नियामक निकाय तथा समग्र निजी क्षेत्रसँग हातेमालो एवं निकट सहकार्यलाई प्रमुख प्राथमिकता दिँदै कार्यसमिति अगाडि बढ्ने बताए ।
नयाँ अध्यक्ष, महासचिव र कोषाध्यक्षसहित सिबिफिनमा अहिले वरिष्ठ उपाध्यक्षमा राजेश उपाध्यय, उपाध्यक्षमा कुशप्रसाद मल्ली, सचिवमा थानेश्वर पौडेल, सह–कोषाध्यक्षमा दिलीप मुनकर्मी र सदस्यहरुमा राधेश पन्त, बालगोपाल वैद्य, राजाराम खड्का, किशोरकुमार कार्की र टुकप्रसाद पौडेल रहेका छन् ।
यसअघि, कार्यसमितिको सदस्य रहेका महासचिव गोयल एक कुशल र अनुभवी बैंकरको रुपमा परिचित छन् । उनले नबिल बैंक, तत्कालीन बैंक अफ काठमाण्डू, क्लिन इनर्जी डेभलपमेन्ट बैंक र तत्कालीन नेपाल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीको उच्च तहको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका छन् ।
त्यसैगरी, यसअघि कार्यसमितिको सदस्य रहेका कोषाध्यक्ष रमण नेपाल नेपालको बैंकिङ र वित्तीय क्षेत्रमा एक अनुभवी व्यक्तित्वको रूपमा चिनिएका छन्, जसले नेपाल राष्ट्र बैंकको निर्देशक, तत्कालीन लक्ष्मी बैंकको सञ्चालक र नागरिक लगानी कोषको कार्यकारी निर्देशक जस्ता महत्वपूर्ण पदमा रही कुशल प्रशासक र अनुभवी बैंकरको परिचय बनाएका छन् ।
सिबिफिनको विधानअनुसार कार्यसमितिको पदाधिकारी पद रिक्त हुन आएमा कार्यसमितिमै बहाल रहेका सम्बन्धित समूहका सदस्यहरुमध्येबाट मनोनीत गर्ने र सो सम्भव नभएमा सदस्य बैंक तथा वित्तीय संस्थाका अध्यक्षहरुमध्येबाट मनोनीत गर्ने व्यवस्था बमोजिम अध्यक्ष, महासचिव र कोषाध्यक्ष पदमा मनोनीत गरिएको हो ।
