काठमाडौँ । कानुनको अन्तिम व्याख्या गर्ने र न्याय सम्पादनको सर्वोच्च निकाय ‘सर्वोच्च अदालत’ कै कर्मचारीहरूले न्यूनतम अनुशासन र नियम पालना नगरेको पाइएको छ । अदालतको अनुगमन महाशाखाले गरेको आकस्मिक छड्के अनुगमनका क्रममा कर्मचारीहरू समयमा नआउने, तोकिएको पोसाक नलगाउने र बिना सूचना अनुपस्थित हुने गरेको डरलाग्दो तथ्य फेला परेको हो ।
छड्के अनुगमनका मुख्य ‘कैफियत’ हरू:
यही वैशाख २ र ३ गते गरिएको आकस्मिक अनुगमनका क्रममा प्रशासनले निम्न विवरण सार्वजनिक गरेको छ:
विलम्ब हाजिरी: वैशाख ३ गते बिहान ९ बजेपछि कार्यालय प्रवेश गर्ने कर्मचारीको सङ्ख्या ८२ जना भेटिएको छ ।
अनुपस्थिति: बिदा स्वीकृत नगराई वा पूर्वजानकारी नदिई अनुपस्थित हुने कर्मचारीको सङ्ख्या ७० जना पुगेको छ ।
पोसाक उल्लंघन (ड्रेसकोड): तोकिएको पोसाक नलगाई ‘जिन्स र टिसर्ट’ समेत लगाएर कार्यालय आउने कर्मचारी २२ जना भेटिएका छन्।
कुर्सी छड्के: वैशाख २ गते गरिएको अनुगमनमा ९ जना कर्मचारीले बिहान र बेलुका हाजिर गरे पनि दिनभर आफ्नो कार्यकक्षमा नभई ‘कुर्सी खाली’ राखेको पाइएको छ।
प्रशासनको कडा चेतावनी
अनुगमनका क्रममा पाइएका यी कैफियतहरूको छुट्टै अभिलेख राखिने सर्वोच्च प्रशासनले जनाएको छ । अनुशासन कायम गर्न अदालतले अब नयाँ डिजिटल हाजिरी नियम समेत लागू गरेको छ:-
“अब उप्रान्त बिहान ९:१५ बजेपछि र बेलुका ५:०० बजेअघि हाजिरी मेसिनले हाजिर नलिने व्यवस्था गरिएको छ। अनुगमन महाशाखाबाट यस्ता छड्के कार्यहरू निरन्तर जारी रहनेछन्।” – सर्वोच्च अदालत प्रशासन
सुधारका लागि निर्देशन
अदालत प्रशासनले एक सूचना जारी गर्दै सबै कर्मचारीलाई निर्दिष्ट समयभित्र तोकिएको पोसाकमा मात्र अदालत प्रवेश गर्न र सेवाग्राहीबाट गुनासो नआउने गरी कार्यसम्पादन गर्न निर्देशन दिएको छ । कानुन कार्यान्वयन गराउने निकायभित्रै देखिएको यस्तो बेथितिप्रति सेवाग्राहीहरूले समेत प्रश्न उठाउन थालेका छन् ।