काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतका चार महत्वपूर्ण संसदीय समितिमा नयाँ सभापति चयन भएका छन् ।
सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली कांग्रेसका सांसद भरत खड्का सर्वसम्मत चयन भएका छन् । सभापति चयनपछि सञ्चारकर्मीसँग कुरा गर्दै खड्काले आर्थिक सुशासन र वित्तीय अनुशासनलाई समितिको प्रमुख प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए । उनले विगतका कमजोरी नदोहोऱ्याउने गरी समितिको काम अघि बढाइने बताए ।
त्यस्तै, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. ओजस्वी शेरचन चयन भएकी छन् । उक्त पदका लागि एमालेका गुरु बरालले पनि उम्मेदवारी दिएका थिए । समितिको नेतृत्व सम्हालेपछि शेरचनले सबै सदस्यसँग समन्वय गरेर समितिको काम प्रभावकारी बनाइने बताइन् ।
अर्थ समितिको सभापतिमा रास्वपाका सांसद कृष्णहरि बुढाथोकी निर्वाचित भएका छन् । उनी रामेछाप–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
यस्तै, कानून, न्याय तथा मानवअधिकार समितिको सभापतिमा रास्वपा सांसद समीक्षा बास्कोटा निर्विरोध चयन भएकी छन् । सभापति चयनपछि उनले समितिको कामलाई छलफल र सहकार्यका आधारमा अघि बढाइने बताइन् ।
चारै समितिमा नयाँ नेतृत्व चयन भएसँगै संसदीय कार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।