अब ट्रायल पास गरेको २४ घण्टाभित्रै लाइसेन्स, मन्त्री तिमिल्सिनाद्वारा छपाइको शुभारम्भ

काभ्रे । सवारी चालक अनुमति पत्र (लाइसेन्स) को प्रतिक्षामा रहेका सेवाग्राहीका लागि सरकारले राहतको व्यवस्था गरेको छ । अब ट्रायल पास गरी राजस्व तिरेको २४ घण्टाभित्रै लाइसेन्स छाप्ने व्यवस्था लागू भएको छ ।

शुक्रबार सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले काभ्रेको पनौती-५ स्थित सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ सेन्टर) पुगेर लाइसेन्स छपाइ कार्यको शुभारम्भ गरे ।

असार मसान्तभित्र ‘ब्याकलॉग’ सकिने

मन्त्री तिमिल्सिनाले लामो समयदेखि लाइसेन्स नपाउने समस्याको सदाका लागि अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले वर्षौँदेखि छापिन बाँकी रहेका (ब्याकलॉग) सबै लाइसेन्स आगामी असार मसान्तभित्र छापिसक्ने लक्ष्य राखिएको जानकारी दिए ।

“अब सम्भव भएका कुनै पनि काम रोकिने छैनन्, सेवाग्राहीले छिटो सेवा पाउनेछन् । लामो समयदेखि लाइसेन्स कुरेर बस्नुपर्ने झन्झट अब अन्त्य भएको छ,” मन्त्री तिमिल्सिनाले भने ।

थन्किएका उपकरण सञ्चालनमा

निरीक्षणका क्रममा मन्त्री तिमिल्सिनाले सुरक्षण मुद्रण केन्द्रमा रहेका करिब एक अर्ब रुपैयाँ बराबरका उपकरण प्रयोगविहीन अवस्थामा रहेकोमा दुःख व्यक्त गरे । उनले विगतमा इच्छाशक्ति र उचित व्यवस्थापनको अभावले अर्बौँका मेसिन थन्किएको उल्लेख गर्दै अब ती सबैलाई पूर्ण क्षमतामा सञ्चालन गरिने बताए ।

मन्त्रीको निर्देशन: डाटा सुरक्षा र नागरिक सेवा

मन्त्रीले केन्द्रलाई नागरिकको डाटा सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्न र सेवाग्राहीमैत्री बन्न निर्देशन दिएका छन् । सेवा प्रवाहमा देखिएका गुनासाहरूलाई तत्काल समाधान गर्न मन्त्रालयले पहल गरिरहेको उनले प्रष्ट पारे ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै